Techie IT
२०८२ चैत्र ८, आइतबार

इरानी आक्रमण पछि साउदीको कडा कदम: सैन्य सहचारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश


साउदी अरेबियाले आफ्नो भूमिमा निरन्तर इरानी आक्रमण भइरहेको आरोप लगाउँदै इरानका सैन्य सहचारी र दूतावासका केही कर्मचारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ।

साउदी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा इरानी दूतावासका सैन्य सहचारी, सहायक सैन्य सहचारीसहित अन्य तीन कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ (अवाञ्छित व्यक्ति) घोषणा गरिएको उल्लेख गरिएको छ।

अमेरिका र इजरायल सँग इरानको तनावपूर्ण अवस्था र सम्भावित युद्धबीच साउदीले यस्तो कठोर निर्णय लिएको हो। पछिल्लो समय इरानले साउदी अरबसहित खाडी क्षेत्रका अमेरिकी सैन्य अखडा रहेका मुलुकहरूलाई लक्षित गर्दै नागरिक केन्द्र र ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाएको आरोप लगाइएको छ।

यी आक्रमणका कारण विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता बढ्नुका साथै क्षेत्रीय सुरक्षा अवस्थासमेत तनावपूर्ण बनेको छ। विश्वको दोस्रो ठूलो कच्चा तेल भण्डार रहेको साउदीमाथि युद्ध सुरु भएयता इरानले सयौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको साउदी पक्षको दाबी छ। यद्यपि, अधिकांश आक्रमणलाई बीचमै निष्क्रिय पारिएको अधिकारीहरूले जनाएका छन्।

साउदीको पूर्वी ऊर्जा केन्द्रहरू र राजधानी रियाद बारम्बार निशानामा परेका छन्। यसै महिनाको सुरुमा रियादस्थित अमेरिकी दूतावासमाथि समेत दुई ड्रोन आक्रमण भएको उल्लेख गरिएको छ।

पछिल्लो पटक बिहीबार लाल सागर किनारस्थित यान्बु बन्दरगाह नजिकै रहेको अराम्को–एक्सन रिफाइनरी (सामरेफ) क्षेत्रमा ड्रोन खसेपछि तेल ढुवानी प्रभावित भएको बताइएको छ। साथै, हर्मुज जलडमरू मा ट्याङ्कर आवागमन अवरुद्ध भएपछि साउदीका लागि वैकल्पिक मार्गमा समेत दबाब बढेको छ।

यसअघि साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउद ले इरानप्रतिको विश्वास पूर्ण रूपमा टुटेको र आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने चेतावनी दिएका थिए।

तीन वर्षअघि चीन को मध्यस्थतामा साउदी–इरान सम्बन्ध सुधारको प्रयास भए पनि पछिल्लो तनावले त्यसलाई पुनः संकटमा पारेको छ।

साउदीको निर्णयभन्दा केही दिनअघि मात्र कतार ले पनि दोहास्थित इरानी दूतावासका सैन्य तथा सुरक्षा सहचारीहरूलाई देश निकाला गर्ने निर्णय गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट