हुथी विद्रोहीद्वारा लाल सागरमा पुनः भीषण आक्रमण, युरोप-एसिया व्यापारिक मार्ग ठप्प हुने खतरा
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा चल्ने व्यापारिक जहाजहरूमाथि पुनः शृङ्खलाबद्ध आक्रमण सुरु गरेको दाबी गरेका छन्। यस कदमले पहिले नै अशान्त बनेको पश्चिम एसियाली क्षेत्रलाई झनै भयानक द्वन्द्वतर्फ धकेल्ने खतरा बढाएको छ।
हुथीहरूले बाब अल-मन्डेब र स्ट्रेट अफ होर्मुज मार्गबाट जहाजहरू फर्काउन बाध्य पार्दै युरोप र एसिया जोड्ने मुख्य समुद्री व्यापारिक जलमार्ग पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएका छन्। यता, अमेरिका र इरानबिच एकअर्कामाथि प्रत्यक्ष हवाई हमला जारी छ भने साउदी अरबको आणविक सम्झौताले यस क्षेत्रमा आणविक प्रतिस्पर्धाको त्रास बढाएको छ। सन् २०२६ पश्चिम एसियाका लागि पछिल्ला वर्षहरूकै सबैभन्दा हिंसात्मक वर्ष साबित भइरहेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले लगातार १३ रातदेखि इरानी सैन्य अखडा, ड्रोन भण्डार, सञ्चार सञ्जाल र तटीय निगरानी क्षेत्रहरूमा तीव्र हमला गरिरहेको छ। सेन्टकमका अनुसार, नागरिक तथा व्यापारिक जहाजहरूमाथि इरानले निम्त्याएको सुरक्षा थ्रेट कम गर्न यी रणनीतिक स्थानहरूलाई निशाना बनाइएको हो।
शान्त र न्यून कर प्रणालीका लागि चिनिएका खाडी अरब देशहरू अहिले इरान र उसका समर्थित समूहहरूको निरन्तर प्रहार सामना गर्न बाध्य छन्। साउदी अरबसँग सन् २०२२ मा भएको युद्धविराम भङ्ग भएपछि यमनका हुथीहरू पुनः यो द्वन्द्वमा होमिएका हुन्। यसै साता हुथीहरूले लाल सागरमा दुई साउदी जहाजमाथि मिसाइल प्रहार गरेका छन् भने साउदी बन्दरगाहमा नजान चेतावनी दिँदै अन्य १० वटा जहाजलाई फर्काइदिएका छन्।
इरानले स्ट्रेट अफ होर्मुज लगभग ठप्प पारेका कारण पहिले नै विश्वव्यापी ऊर्जा र रासायनिक मल आपूर्ति प्रभावित भइरहेको बेला बाब अल-मन्डेबको नयाँ अवरोधले विश्व अर्थतन्त्रलाई थप गम्भीर धक्का दिने निश्चित छ। साउदी अरबले आफूलाई अमेरिका-इरान युद्धबाट अलग राख्ने प्रयास गरे पनि सम्भव भइरहेको छैन।
होर्मुज जलमार्ग बन्द भएपछि साउदीले पूर्व-पश्चिम पाइपलाइनमार्फत लाल सागरको यान्बु अल-बहर टर्मिनलसम्म इन्धन पहुँचाएर एसियाली बजारमा निर्यात गरिरहेको थियो। तर, हुथीको नयाँ धम्की र आक्रमणका कारण अब सो वैकल्पिक मार्ग पनि असुरक्षित बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूलाई ‘ठेगान लगाउने’ दाबी गरे पनि दिगो सम्झौताबिना यो सहज देखिँदैन। सन् २०१४ मा राजधानी साना र पछि रणनीतिक बन्दरगाह होदैदा कब्जा गरेका हुथीहरूलाई सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले भीषण बमबारी गर्दा पनि परास्त गर्न सकेको थिएन। यमनका तटीय पहाड, गुफा र सुरुङ सञ्जालका कारण हुथीहरू सहजै लुकेर समुद्री मार्गमा आक्रमण गर्न सक्षम छन्।
पश्चिम एसियाका इराक र सिरिया तुलनात्मक रूपमा शान्त रहेका र गाजा एवम् लेबनानमा वार्ताको प्रयास भइरहेका बेला खाडी क्षेत्र भने झनै अशान्त बनेको छ। अमेरिकी आक्रमणले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) लाई होर्मुजको नियन्त्रण छाड्न बाध्य पार्न सकेको छैन।
यसैबिच, साउदी अरबलाई नागरिक आणविक ऊर्जा विकासमा अमेरिकी सहयोगको घोषणाले तनाव अझ चुल्याएको छ। साउदीले तत्काल आणविक हतियार बनाउने सङ्केत नदिए पनि यसले टर्की र इजिप्टजस्ता छिमेकीहरूलाई पनि आणविक होडमा ओर्लिन प्रेरित गर्ने खतरा बढेको छ। अमेरिका र इरानबिच सर्वपक्षीय राजनीतिक सम्झौता नभएसम्म पश्चिम एसियाको यो सङ्कट टर्ने देखिँदैन।



तपाईको प्रतिक्रिया दिनुहोस