फ्लाईदुबईको विमान दुर्घटना गराउने प्रयास कस्को थियो भन्न हतार हुन्छ - प्रधानमन्त्री नेतान्याहु
दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटनाग्रस्त गराउने प्रयास गरेका छन्। तर, यस घटनामा कसको संलग्नता थियो भन्नेबारे अहिले नै निष्कर्ष निकाल्न हतार हुने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्। अमेरिकी समाचार संस्था फक्स न्युजसँग कुराकानी गर्दै घटनामा इरानको संलग्नताबारे सोधिएको प्रश्नमा उनले अहिले नै भन्नु हतार हुन्छ भन्ने जवाफ दिएका छन्।
फ्लाईदुबईको उडान एफजेड १०७३ दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ७:०५ बजे तेलअभिभका लागि उडेको थियो। विमानमा चालक दलसहित १७४ जना सवार थिए। उडान सुरु भएको करिब साढे दुई घण्टापछि विमानले साउदी अरबमाथि अचानक तीव्र रूपमा उचाइ गुमाएको थियो। उडान अनुगमन वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानले दुई मिनेटभन्दा कम समयमा १७ हजार फिट अर्थात् करिब ५ हजार २०० मिटर उचाइ गुमाएको थियो।
त्यसपछि विमानले सामान्य आपत्कालीन सङ्केत स्वाइक ७७०० प्रसारण गरेको थियो भने पछि त्यसलाई विमान अपहरण भएको सङ्केत जनाउने स्वाइक ७५०० मा परिवर्तन गरिएको थियो। अन्ततः विमान तबुकतर्फ मोडिई साउदी अरबको उत्तरपश्चिमी तबुक विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।
प्रधानमन्त्री नेतान्याहुका अनुसार आक्रमण गर्ने सहपाइलटलाई साउदी अधिकारीहरूले पक्राउ गरेका छन् र उनीमाथि अनुसन्धान भइरहेको छ। आक्रमणमा परि गम्भीर घाइते भएका भारतीय नागरिक क्याप्टेन स्मित मच्छहर अस्पतालमा उपचाररत छन् र उनको अवस्था स्थिर रहेको छ।
गम्भीर घाइते भए पनि साहसिक रूपमा प्रतिकार गर्दै ककपिटको ढोका खोलेर यात्रु तथा चालक दलका सदस्यहरूलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग पुर्याएकोमा इजरायली प्रधानमन्त्री नेतान्याहु र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन्। यात्रुहरूले समेत ककपिटभित्रै छिरेर आक्रमणकारीलाई चोकहोल्ड गरी नियन्त्रणमा लिएका थिए।
तबुकमा रोकिएका यात्रुहरूलाई पछि अर्को उडानमार्फत बुधबार साँझ करिब ६:४० बजे तेलअभिभको बेन गुरियन विमानस्थल ल्याइएको थियो। विमानस्थलमा आफन्तहरूले सङ्गीत बजाउँदै, इजरायली झन्डा फहराउँदै हर्षोल्लासका साथ उनीहरूको स्वागत गरेका थिए।
साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीहरूले घटनाको पछाडिको मुख्य उद्देश्य र कुनै आतङ्ककारी सङ्गठनसँगको सम्बन्धलगायतका विषयमा संयुक्त रूपमा गहिरो अनुसन्धान अगाडि बढाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस