उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको अधिकारीको भनाइ
युक्रेनविरुद्धको युद्धमा रूसलाई सहयोग गर्न हालै पठाइएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी फौजको आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन्। युक्रेनी अधिकारीले प्योङयाङका सैनिक एकाइहरूमाथि आक्रमण भएको बताएको यो पहिलो पटक हो।
युद्धको एक हजार दिनको नजिक पुग्दै गर्दा उत्तर कोरियाली सैनिकहरूको यो तैनाथीले युद्धमा नयाँ मोड ल्याएको छ। "पहिलो पटक कुर्स्क क्षेत्रमा उत्तर कोरियाली सैनिकहरूमाथि गोलाबारी गरिएको छ," युक्रेनको सुरक्षा परिषद्को दुष्प्रचार विरोधी शाखाका प्रमुख आन्द्री कोभालेन्कोले टेलिग्राममा लेखेका छन्। तर उनले थप विवरण खुलाएका छैनन्।
पश्चिमी देशहरूले उत्तर कोरियाली सैनिकहरू रूसको कुर्स्क क्षेत्रमा पठाइने अपेक्षा गरेका थिए। यस क्षेत्रमा युक्रेनी सेनाले तीन महिना लामो घुसपैठ गरेका कारण रूसको प्रतिष्ठामा धक्का लागेको थियो।
अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर मूल्याङ्कनका अनुसार मस्कोसँगको सम्झौताअन्तर्गत उत्तर कोरियाले युद्धमा १२ हजारसम्म लडाकू पठाउन सक्ने अपेक्षा गरिएको छ। यद्यपि उत्तर कोरियाली सैनिकहरूको युद्ध अनुभव र क्षमता अझै अज्ञात रहेको बताइएको छ।
डोनेट्स्क क्षेत्रमा रूसी सेनाको निरन्तर आक्रमणको दबाबमा युक्रेनी सुरक्षा कमजोर बन्दै गएको छ। बेलायती रक्षा मन्त्रालयका अनुसार रूसी सेना डोनेट्स्कका केही क्षेत्रमा नौ किलोमिटरसम्मको क्षेत्र कब्जा गर्न सफल भएको छ। साथै, रूसले आफ्नो सैन्य अभियानका लागि नयाँ सैनिकहरू भर्ती गरिरहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस