‘जैश–ए–मोहम्मद’ संस्थापक मसूद अजहरका आफन्त सैन्य कारबाहीमा मारिएको दाबी
मसूद अजहर सन् १९९९ मा काठमाडौंबाट दिल्ली जाँदै गरेको इन्डियन एयरलाइन्सको 'आइसी–८१४' विमान अपहरण प्रकरणपछि चर्चामा आएका थिए

भारतले बुधबार बिहान पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा अतिवादी संगठन जैश–ए–मोहम्मद का संस्थापक मसूद अजहरका आफन्त र सहयोगीहरू गरी १४ जना मारिएको दाबी गरिएको छ।
जैश–ए–मोहम्मदको तर्फबाट जारी विज्ञप्तिअनुसार मारिएकामध्ये अजहरकी दिदी, भिनाजु, भतिजा, उनका पत्नी, एक भतिजी र पाँच जना बच्चा छन् । साथै, उनका तीनजना सहयोगी र एक सहयोगीकी आमा पनि हमलामा मारिएको जनाइएको छ ।
भारतीय सेनाले ‘अपरेसन सिन्दुर’ नाम दिइएको कारबाही अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका नौवटा आतंकवादी शिविरहरूमा मिसाइल हमला गरेको जनाएको छ । भारतीय पक्षको दाबीअनुसार ती शिविरहरूमा जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिज्बुल मुजाहिद्दिनका लडाकूलाई प्रशिक्षण दिइँदै आएको थियो। मसूद अजहरको जन्मस्थल पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिद नजिकै भएको हमलामा उनको परिवारका सदस्य मारिएको बताइएको छ । अजहर हाल पनि कडा सुरक्षाबीच बहावलपुरमै बसिरहेको आशंका गरिएको छ ।
मसूद अजहर सन् १९९९ मा काठमाडौंबाट दिल्ली जाँदै गरेको इन्डियन एयरलाइन्सको 'आइसी–८१४' विमान अपहरण प्रकरणपछि चर्चामा आएका थिए । सो विमानमा चालक दलसहित १८८ जना सवार थिए, जसमा आठ जना नेपाली यात्रु पनि थिए । एक यात्रुको हत्या गरिएको थियो । उक्त घटनापछि भारतले फिरौतीस्वरूप जेलमा रहेका तीन आतंकवादीलाई रिहा गरेको थियो, जसमा मसूद अजहर पनि एक थिए । जेलमुक्त भएपछि अजहरले सन् २००० मा जैश–ए–मोहम्मदको स्थापना गरेका थिए ।
यस समूहमाथि सन् २००१ मा भारतीय संसदमाथि आक्रमण, २०१६ को पठानकोट हमला र २०१९ को पुलवामा बम विष्फोटमा संलग्न रहेको आरोप छ। पुलवामा हमलामा ४० जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस