लिबियामा मन्त्रीसहित पाँच जना पक्राउ

लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ ।
त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका यी अधिकारीहरूलाई कानूनी, आर्थिक र प्राविधिक प्रक्रियाहरूको पालना नगरी औषधि आयात गरेको अभियोग लागेको हो ।
लिबियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार, औषधि खरिदका लागि आवश्यक सरकारी प्रक्रिया नअपनाई सार्वजनिक ठेक्कासम्बन्धी नियम उल्लङ्घन गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रधानमन्त्री अब्दुलहामिद डेबाइबहको कार्यालयले केही समयअघि मन्त्री बुजेनाहसहित चार अधिकारीलाई निलम्बन गरेका थिए । हाल मन्त्रालयका पूर्व उपसचिव मोहम्मद अल–घोज कार्यवाहक स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त भएका थिए ।
क्यान्सर उपचारका लागि राज्य अनुदानित औषधिको पहुँच सीमित रहँदा र निजी उपचार महँगो हुँदा यो भ्रष्टाचारसम्बन्धी घटना प्रति जनतामा गम्भीर चिन्ता देखिएको छ । सार्वजनिक अस्पताल र विशेषज्ञ केन्द्रहरू प्रायः विदेशी कम्पनीहरूबाट आयातित औषधिमा निर्भर छन् ।
बुजेनाह सन् २०२२ को जनवरीमा मन्त्री नियुक्त हुनुभएका थिए, जब उहाँका पूर्ववर्ती अली जेनेटीलाई पनि यस्तै अनियमितता प्रकरणमा बर्खास्त गरिएको थियो । डेबाइबहको नेतृत्वमा यो चौथो पटक मन्त्रीहरू भ्रष्टाचार प्रकरणमा तानिएका हुन् । यसअघि शिक्षा मन्त्रीलाई पाठ्यपुस्तक अभावसम्बन्धी घोटालामा तीन वर्षको जेल सजाय सुनाइएको थियो भने २०२१ मा संस्कृति मन्त्रीसमेत भ्रष्टाचार आरोपमा निलम्बनमा परेका थिए ।
सरकारले सार्वजनिक स्रोतमा पारदर्शिता र जवाफदेहिताका लागि प्रतिबद्धता जनाउँदै यस्ता घटनाहरूको निष्पक्ष छानबिन जारी राख्ने बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस