धनगढीबाट काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटनाग्रस्त
कपिलवस्तुको महाराजगंज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको 'शिवपुरी लक्जरी कोच प्रा.लि' द्वारा सञ्चालित बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा बस चालकसहित २२ जना घाइते भएका छन्।
घाइते हुनेहरू जिल्ला अनुसार -
कैलाली: बस चालक धनगढी–१३ का ४२ वर्षीय हरिसिंह महरा, गोदावरी–१ का २८ वर्षीय विमल भट्ट, गोदावरी–२ की ५५ वर्षीया सीतादेवी बादी, धनगढी–१८ का ७७ वर्षीय गणपति भागरी, सोही ठाउँका २४ वर्षीय गोपाल पौडेल र २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी–६ का २४ वर्षीय अखिलकुमार ठडिया र घोडाघोडी–९ का ३६ वर्षीय प्रकाश रोकाया।
डडेलधुरा: २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय बालक सुदर्शन ताम्राकार, डडेलधुरा गाउँपालिका–१ का ४० वर्षीय केशबहादुर देउवा र गन्यापधुरा–३ की ४० वर्षीया पार्वती बोहोरा।
बैतडी: सिवास–६ का २५ वर्षीय चक्रबहादुर रोकाया, पुरचौडी–८ का ४५ वर्षीय कृष्णबहादुर विष्ट र उनका १५ वर्षीय छोरा लोचन विष्ट।
बझाङ: थलारा–५ का २३ वर्षीय विनोद सत्कुली र सोही ठाउँका २३ वर्षीय किश्वर बोहोरा।
डोटी: दिपायल सिलगढी–५ का ३० वर्षीय भरत मल्ल।
दार्चुला: नौगाड–४ का ३३ वर्षीय प्रभानन्द ठकुन्ना।
चितवन: भरतपुर–२६ का ६५ वर्षीय भद्रकृष्ण मिश्र।
घाइतेहरूको टाउको, हात, खुट्टा, छाती र कम्मर लगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचार गरिएका घाइतेहरूलाई थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।
चालकसहित ४६ जना सवार उक्त बसका अन्य २४ जना यात्रु भने सुरक्षित रहेका छन्। उनीहरूलाई तत्कालै अर्को बसको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले हटाएर हुलाकी सडकखण्ड दुवैतर्फ सुचारु गरिसकिएको छ। प्रहरीले अस्पतालमा उपचाररत बस चालक महरालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस