अविरल वर्षाले देशका यी मुख्य राजमार्गहरू अवरुद्ध
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ।
प्रमुख राजमार्गहरूको अवस्था विवरण यसप्रकार छ
बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी): काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने यस सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि, बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधनहरू सुचारु रहनेछन्।
कान्ति लोकपथ (मकवानपुर): यस सडकखण्डमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमनमा प्रतिबन्ध लगाइएको छ।
मेची राजमार्ग (इलाम): इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक): भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएसँगै यो खण्ड पूर्ण रूपमा बन्द भएको छ।
त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक (रसुवा): उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि कच्ची सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
भेरी करिडोर (रुकुम पश्चिम): आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ।
मध्यपहाडी लोकमार्ग (रुकुम पूर्व): भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सहिद मार्ग (रोल्पा): थबाङ गाउँपालिका–२ को लाप्लेभिर र दबाङमा भूक्षयका कारण घोराही–थबाङ सडक दुई स्थानमै पूर्ण रूपमा अवरुद्ध भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस