Techie IT
२०८३ श्रावण २९, शुक्रबार

रोल्पा पहिरो: प्रभावित क्षेत्रमा तत्काल राहत र आर्थिक सहायता दिने सरकारको निर्णय


रोल्पाका दुई गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो प्रभावितहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ताका परिवार र घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभएको छ। पहिरोले घरबारविहीन बनाएकाहरूलाई अस्थायी आवास र निजी आवास पुनर्निर्माणसम्बन्धी सहायता उपलब्ध गराइने सहसचिव अर्यालले बताएका छन्।

उक्त पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ भने घटनामा दुई जना घाइते र दुई जना अझै बेपत्ता छन्। साउन २७ गते पहिरो गएपछि लुम्बिनी प्रदेशका तत्कालीन डीआईजी भूपेन्द्र खत्रीसहितका सुरक्षा अधिकृतहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। साउन २८ मा पनि सो क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले थप क्षति पुर्‍याएको थियो।

पहिरोका कारण निजी घर, गोठ र घुम्ती पसलहरूमा ठुलो क्षति पुगेको छ। घटनास्थलमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। मानवीय क्षतिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ। यसैबीच, रोल्पाका सांसद वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्रीलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराउँदै तत्काल राहत र आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट