Techie IT
२०८३ कार्तिक २७, बिहीबार

भीमफेदी दुर्घटना : १४ जनाकै सनाखत, एकै परिवारका ६ सदस्यको मृत्यु


मकवानपुर । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीतर्फ फर्कंदै गरेको यात्रुवाहक विद्युतीय सवारी (ईभी) मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी नजिक मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अवधेश यादवले आफ्नो परिवारका ६ सदस्य गुमाएका छन् । गाडीमा सिट नअटेपछि अवधेश मोटरसाइकलमा पछिपछि आउँदै थिए । सोही दुर्घटनामा परी उनकी गर्भवती श्रीमती ३५ वर्षीया पुनम देवी यादव, तीन छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादवको मृत्यु भएको छ । यस्तै, अवधेशका दुई भाइहरू दीपेश यादव र सुरेश यादवले पनि सोही दुर्घटनामा ज्यान गुमाएका छन् ।

अवधेशका १४ महिने नाबालक छोरा सुदीप यादव भने गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।

थप ३ शव भेटिएसँगै मृतक १४ पुगे, सबैको सनाखत
दुर्घटनास्थलबाट पछि थप ३ वटा शव फेला परेसँगै मृतकको सङ्ख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता माधव काफ्लेका अनुसार मृत्यु हुनेमा ५ जना महिला तथा बालबालिका र ९ जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डलसहित चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना रहेका छन् । मृतक सबैको सनाखत भइसकेको छ ।

यसअघि सनाखत भएकाहरूमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका तीन छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादव रहेका छन् । त्यसैगरी, सोही स्थानका ३५/३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पहिचान खुलेको थियो । पछि फेला परेका शवहरूसहित अवधेशका भाइहरू दीपेश र सुरेशको समेत सनाखत भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।

घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भइसकेका छन् । गम्भीर घाइते १४ महिने बालक सुदीप यादव र ३ वर्षीय सुजन यादवलाई थप तथा आकस्मिक उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल रेफर गरिएको छ भने ३१ वर्षीय देवेन्द्र रायको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट