हेटौँडाको राप्ती तटमा छठ पूजाको भव्य तयारी, ६० हजार श्रद्धालु सहभागी हुने अनुमान
तिहार पर्व सकिएलगत्तै हेटौँडामा छठ पूजाको तयारीलाई तीव्र पारिएको छ । श्रद्धालुहरूको सहजताका लागि हेटौँडास्थित राप्ती नदी किनाराको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी भव्य संरचना निर्माण गरिएको छ ।
छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताका अनुसार पूजास्थलमा सात फिट अग्लो पण्डालसहित अन्य आवश्यक पूर्वाधार तयार पारिएको छ । पछिल्ला २० वर्षयता हेटौँडामा छठ पर्वप्रतिको आकर्षण निरन्तर बढ्दै गएको संयोजक गुप्ताले बताएका छन् ।
छठ पूजालाई भव्य, सभ्य र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरसहित सुरक्षासम्बद्ध सबै निकायसँग समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
पछिल्ला वर्षहरूमा तराईका विभिन्न जिल्लाबाट सेवा, पेसा र व्यवसायका सिलसिलामा हेटौँडामा बसाइँसराइ गर्ने क्रम बढेसँगै यहाँ छठ पर्वको रौनकता र सहभागिता झनै बढ्दै गएको समाजसेवी एवं संस्कृत वेद विद्यालय हेटौँडाका अध्यक्ष रामकृष्ण थापाले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस