स्पेनमा १३ वर्षयताकै भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु
स्पेनको मध्यभागमा बुधबार बिहान भएको तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रुहरू घाइते भएका छन्। यो दुर्घटनालाई १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक र युरोपको आधुनिक इतिहासकै एक गम्भीर रेल दुर्घटनाका रूपमा हेरिएको छ।
राजधानी मड्रिडबाट सेभिलतर्फ गइरहेको रेल मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटनाग्रस्त भएको हो। लिकमा पहिले नै रोकिएर बसेको अर्को रेलसँग तीव्र गतिको रेल एकाएक ठोक्किँदा धेरै वटा डिब्बाहरू लिकबाट उम्किएर किनारको ढिस्कोबाट तल खसेका थिए।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको प्राविधिक गडबडी र त्यसपछिको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको प्रारम्भिक अनुमान छ। निजी रेल सञ्चालक ‘इरियो’ को स्वामित्वमा रहेको १४७ यात्रुवाहक रेल कम्प्युटर खराबीका कारण लिकमै रोकिएपछि त्यसलाई सरकारी रेल्वे कम्पनी ‘रेनफे’ द्वारा सञ्चालित ३९७ जना यात्रु बोकेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनापछि उद्धार गरिएका यात्रुहरूले ठक्करका क्रममा मानिसहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्यालका सिसाहरू फुटाउनुपरेको हृदयविदारक दृश्यको वर्णन गरेका छन्। हाल घटनास्थलमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ भने घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस