Techie IT
२०८३ मंसिर १३, शनिबार

बुङ्गल नगरपालिकाको शहरी विकासका लागि २९ करोडको योजना तय


बझाङ । बझाङको बुङ्गल नगरपालिकालाई व्यवस्थित र सुविधायुक्त सहरका रूपमा विकास गर्न करिब २९ करोड रुपैयाँको बजेटसहितका विभिन्न पूर्वाधार कार्यक्रम तय गरिएका छन् । सघन शहरी विकास कार्यालय बैतडीमार्फत कार्यान्वयन हुने गरी उक्त कार्यक्रम अघि सारिएको हो ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नगरपालिकाको केन्द्र आसपासका सडक फराकिलो बनाउँदै कालोपत्रे गरिने छ भने सडक बत्ती जडान गरी बजार क्षेत्रलाई झिलिमिली बनाइनेछ । यस्तै, नगरपालिकाभित्रका अन्य विभिन्न सडकहरूसमेत कालोपत्रे गर्ने कार्यक्रममा समावेश गरिएको छ ।

स्थानीय तहमा आवश्यक जग्गा उपलब्ध भएमा सार्वजनिक शौचालय, खेल मैदान र बसपार्कलगायतका भौतिक संरचना निर्माण गरिने जनाइएको छ । साथै, नगरभित्रका पर्यटकीय सम्भावनाहरूको पहिचान गरी आवश्यक पूर्वाधार र पदमार्ग निर्माण गर्ने योजनासमेत तय भएको छ । यी योजना कार्यान्वयनमा आएपछि स्थानीय नागरिकले आफ्नै नगरपालिकाबाट सहज रूपमा शहरी सेवा–सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

यसै सन्दर्भमा बुङ्गल नगरपालिकामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, सुदूरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री दमन भण्डारी, प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सघन शहरी विकास कार्यालय बैतडीका प्रमुख इन्जिनियर झंकबहादुर थापा तथा जिल्ला पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर हेमराज भट्टलगायतको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट