धनुषामा हत्या आरोपिलाई गोली प्रहार
Gun Fire
धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका ६० वर्षीय रामजतन यादव (म्यानेजर)को हत्या आरोपमा संलग्न एक जनालाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र जटहीबाट आरोपितलाई पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ।
यादव आइतबार छठघाट निर्माण गरी पोखरीमा एक्लै रुङ्न बसेका थिए। गत कार्तिक ३० गते बिहान करिब ६ बजे उनी पोखरीमा मृत फेला परेका थिए।
घटनापछि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका आधारमा आरोपितलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिको परिचय, हत्याको कारण र घटनासम्बन्धी थप विवरण प्रहरीले औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस