अमेरिकी नौसैनिक नाकाबन्दी तोड्न खोज्ने व्यापारिक जहाज निष्क्रिय
इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेको अर्को एक व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त कारबाहीको पुष्टि गरेको हो ।
सेन्टकमका अनुसार बिहीबार अमेरिकी सैन्य विमानले पलाउको झण्डा बोकेको ‘एमभी प्यासिफिक आर्चर’ नामक जहाजको पछिल्लो भागमा सटीक हतियार प्रहार गरेको थियो । उक्त प्रहारबाट जहाजको इन्जिन तथा सञ्चालन प्रणाली पूर्ण रूपमा निष्क्रिय भएको छ भने जहाजमा सवार सर्वसाधारण चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ ।
सिंगापुरतर्फ जान लागेको उक्त जहाज इरानको बन्दर अब्बास बन्दरगाहबाट निस्किएलगत्तै नाकाबन्दी तोडेर अघि बढ्ने प्रयासमा रहेको अमेरिकी सेनाको दाबी छ ।
यसैबिच, इरानी नौसेनाका प्रमुख शाहराम इरानीले शुक्रबार सरकारी टेलिभिजनमार्फत अमेरिकी नाकाबन्दी तोड्ने र क्षेत्रीय जलक्षेत्रबाट शत्रुलाई हटाउने उद्देश्यले सैन्य अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
अमेरिकाले गत अप्रिलदेखि इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाउँदै आएको छ । तेहरानसँगको वार्ताका क्रममा गर्मीयाममा केही समय खुकुलो पारिएको उक्त नाकाबन्दी जुलाईदेखि पुनः कडाइका साथ लागू गरिएको थियो ।
अमेरिकी सेनाको तथ्याङ्कअनुसार नाकाबन्दी पुनः सुरु भएयता हालसम्म १५८ वटा व्यापारिक जहाजलाई बाटो परिवर्तन गराइएको छ । कारबाहीमा परेको ‘प्यासिफिक आर्चर’ नाकाबन्दी उल्लंघनको प्रयासमा निष्क्रिय बनाइएको कम्तीमा १५औँ जहाज हो । यसअघि नोभेम्बर ७ मा पनि अर्को एक जहाजलाई यसैगरी निष्क्रिय बनाइएको थियो ।
पछिल्लो घटनाले मध्यपूर्वमा अमेरिका र इरानबिचको सैन्य तनाव पुनः चुलिने चिन्ता बढाएको छ । यसअघि गत जुनमा भएको यस्तै अमेरिकी सैन्य कारबाहीमा गिनी–बिसाउको झण्डा बोकेको एक ट्यांकरका तीन जना चालक दलका सदस्यले ज्यान गुमाएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस