सवारी दुर्घटनाको कहर: एकै दिन ९ जनाको मृत्यु, नवलपरासीमा ८ जना घाइते
देशका विभिन्न नौ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१३ पावर हाउस चोकस्थित सडकमा पीबी १० एचजी ९७२२ नम्बरको भारतीय ट्रकले बा.प्र.०३–००५ प ४२५ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेका ५० वर्षीय रूपचन्द्र तितुङको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको नारायणी न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, सिराहाको कर्जन्हा नगरपालिका–६ महुवा चउरस्थित सडकमा बडहरा मिर्चैयाबाट कमला नदीतर्फ जाँदै गरेको स.१ त ५१५५ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–६ का ५० वर्षीय हरदयाल मुखियाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया एक नम्बर पुलस्थित सडकमा लु.१ ख ४९६० नम्बरको बसले प्र.३–०२–०१० प ६९६६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक महागढीमाई नगरपालिका–५ का ३० वर्षीय शशिकान्त चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, धादिङको गल्छी गाउँपालिका–७ गल्छीबजारस्थित सडकमा गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख २२४९ नम्बरको हायसको ठक्करबाट पैदलयात्री बारा विश्रामपुर गाउँपालिका–५ का ३८ वर्षीय सुरेश पण्डितको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । हायस चालक प्रहरी नियन्त्रणमा छन् ।
नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–११ बाहुनीकुनास्थित सडकमा लु.२ च ८९९७ नम्बरको बोलेरो जिप लु.२ त २४१७ नम्बरको ट्याक्टरमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको छ । मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा उनको मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य आठ जनाको चितवनको भरतपुरस्थित न्यु सीएमसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बोलेरो र ट्याक्टर दुवैका चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१४ लुवाडबरास्थित सडकमा डवाङपुरबाट कोठरीतर्फ जाँदै गरेको रा.६ प ९०४२ नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–१५ कोठरीका ३२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित सडकमा पडेरियाबाट लोखडियातर्फ जाँदै गरेको यूपी ५५ एयू ९३२४ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ३८ वर्षीय कवीर क्षेत्रीको बुधबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलस्थित सडकमा सु.प.प्र.०१–१५ प १०४२ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा पछाडि सवार स्थानीय २३ वर्षीय सागर साउँदको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीस्थित सडकमा भे.२ त ८०९ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा चालक पुनर्वास नगरपालिका–८ खड्डाका ३३ वर्षीय अजय रानाको घटनास्थलमै मृत्यु भएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस