कक्षा कोठादेखि खेतबारीसम्म: कैलालीका युवाको करोडतर्फ उन्मुख कृषि यात्रा
अध्ययनको क्षेत्र कृषि प्राविधिक र व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय एकै दिशामा अघि बढेपछि कैलालीका युवा किसान दशरथ साउदको दाङस्थित घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ। घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको फार्ममा कपिलवस्तुका भाष्कर पङ्गेनीले समेत सहकार्य गरेका छन्।
स्ट्रबेरीखेतीको प्राविधिक पक्ष साउद आफैँले सम्हाल्दै आएका छन्। चार वर्षअघि व्यवसायिक रूपमा स्ट्रबेरीखेती सुरु गरेका २७ वर्षीय साउदले गत वर्ष मात्रै करिब २१ लाख रुपैयाँ बराबरको कारोबार भएको बताए। “गत वर्ष आधाभन्दा बढी रकम बचत भयो,” उनले भने, “यो वर्ष दैनिक ७० किलोभन्दा बढी स्ट्रबेरी बिक्री भइरहेको छ।” यस वर्ष खेती क्षेत्रफलसमेत विस्तार गरिएकाले कारोबार अझै बढ्ने उनको अपेक्षा छ।
उनका अनुसार मङ्सिरदेखि बिक्री सुरु गरिएको स्ट्रबेरी प्रतिकिलो ७ सय रुपैयाँका दरले बजारमा पुगिरहेको छ। उनले दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएका छन्। “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यही क्षेत्रमा केही गर्ने निर्णय गरें,” साउदले भने, “अहिले यही व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ।”
परम्परागत कृषिमा आधुनिक प्रविधि प्रयोग गर्दा सफलता मिलेको साउदको अनुभव छ। उनी घोराहीमा मात्र नभई कपिलवस्तुमा १० कट्ठा र कैलालीमा दुई बिघा क्षेत्रफलमा समेत व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन्।
यसैगरी, घोराहीकै अर्का युवा किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन्। आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ २८ वर्षीय खड्का केही वर्षदेखि यो व्यवसायमा सक्रिय छन्।
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा सुरु गरेको स्ट्रबेरीखेती अपेक्षाभन्दा राम्रो हुँदै गएको बताए। “कृषिसम्बन्धी अध्ययनपछि आठ वर्षअघि कृषि फार्म स्थापना गरी पुष्प व्यवसाय सुरु गरेको थिएँ,” उनले भने, “पछिल्ला दुई–तीन वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएको छु।”
खड्काले स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्दै आएका छन्। दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उनले चाडपर्वका बेला सयपत्री फूल तथा गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आएका छन्।
स्ट्रबेरी स्वादिलो मात्र नभई पौष्टिक गुणले भरिपूर्ण फल भएकाले बजारमा बिक्रीको समस्या नहुने खड्काको भनाइ छ। “बिरुवा खरिद, थोपा सिँचाइ र मल्चिङ विधिमा सुरुमा आठ लाख रुपैयाँभन्दा बढी खर्च भयो,” उनले भने, “भदौको अन्त्यतिर रोपेका बिरुवाले अहिले राम्रो उत्पादन दिन थालेका छन्।” यसले आगामी दिनमा अझ राम्रो आम्दानी दिने आशा उनले व्यक्त गरे।
कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक रूपमा बिक्री गर्न सके राम्रो नाफा हुने बताए। जिल्लाको बजार सानो भएकाले प्याकिङ र ढुवानीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। “धेरै दिनसम्म प्याकिङमा राख्दा फल खेर जाने सम्भावना हुन्छ,” उनले भने।
दाङको हावा, पानी र माटो स्ट्रबेरीखेतीका लागि अनुकूल रहेको उल्लेख गर्दै उनले भने, “स्ट्रबेरी चिसो ठाउँमा फल्ने बाली हो, अहिलेको मौसम उपयुक्त छ।” जिल्लामा अझै सीमित मात्रामा व्यावसायिक खेती भए पनि कतिपयले घरका गमलामा समेत स्ट्रबेरी लगाउने गरेको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस