'ह्रस्व दीर्घ' कात्तिक ३० मा रिलिज हुँदै, भारतीय कलाकारहरूको आगमनको तयारी
                                                        नेपाली र भारतीय चर्चित कलाकारहरूको अभिनय रहेको फिल्म 'ह्रस्व दीर्घ' आगामी कात्तिक ३० गते सार्वजनिक प्रदर्शनमा आउँदैछ। यस फिल्ममा प्रमुख भूमिकामा देखिने नेपाली कलाकारहरूमा नीता ढुंगाना र हरिहर अधिकारी रहेका छन् । यो फिल्मको प्रचार-प्रसारको क्रममा भारतीय कलाकारहरूको नेपाल आगमनको योजना बनाइएको छ।
फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले भारतीय हास्य अभिनेता ब्रह्मानन्दम सहितका अन्य कलाकारलाई नेपाल ल्याउन संवाद भइरहेको जानकारी दिएकी छिन्। “ब्रह्मानन्दम सरले नेपाली दर्शकलाई भेट्न उत्साहित छन्। उहाँ परिवारसहित नेपाल आउनुहुनेछ,” ढुंगानाले बताइन्। अन्य भारतीय कलाकारहरूसँग पनि कुराकानी भइरहेको उनले जानकारी गराइन्।
ब्रह्मानन्दम विश्व कीर्तिमानी कलाकार हुन्, जसले एक हजारभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। 'ह्रस्व दीर्घ' मा उनका साथै प्रदीप रावत, सुनील वर्मा, कबीर दुहान, र मोहम्मद अलीजस्ता भारतीय कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ। प्रदीप रावत र सुनील वर्मा छायांकनको क्रममा काठमाडौं समेत आइपुगेका थिए ।
नीता फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको कथा र पटकथा हरिहर अधिकारीले लेखेका हुन् भने संवाद प्रतिक पौडेलले तयार गरेका छन्। फिल्मको छायांकन भारतीय छायांकार कवीरलालले गरेका छन्।
बुधबारमात्र सार्वजनिक भएको ट्रेलरले २४ घन्टा नपुग्दै १० लाख भ्युज प्राप्त गर्दै ट्रेन्डिङमा उक्लिएको छ। ट्रेलरले प्रेम, भावना र एक्सनलाई जोड दिएको छ, जसले दर्शकहरूलाई थप उत्साहित बनाएको छ।



    
तपाईको प्रतिक्रिया दिनुहोस