कंक्रिटको शहरमा छानामै हरियाली बगैँचा बनाउने महर्जनको प्रेरक कथा
काठमाडौंको व्यस्त सडक, धुवाँधुलो र कंक्रीटको कठोर संरचनाबीच हामी प्रायः सोच्छौँ के यहाँ अझै हरियाली सम्भव छ?
यही प्रश्नको उत्तर खोज्दै जाँदा कहिलेकाहीँ जीवनले यस्तो दृश्य देखाउँछ, जसले मन मात्र होइन सोच नै बदलिदिन्छ। कृषि कर्मका लागि जग्गा खालि छैन भन्ने भाष्य निर्माण गरेको देखिन्छ त्यहीँ कसैले आफ्नो छानामाथि सिंगो संसार रोपेर देखाएको हुन्छ -जीवनसँग नजिक, प्रकृतिसँग जोडिएको एउटा सानो तर गहिरो प्रयास गरिएको छ ।
पुष महिनाको कुरा हो एकदिन कक्षामा “Participatory Innovation Research and Development Studies” विषयको पठनपाठन अघि बढ्दै गर्दा आदरणीय ब्यक्तित्त्व प्रा.डा धर्मराज डंगोल सर जो एक अनुभवी वरिष्ठ नेपाली( बैज्ञानिक )वातावरणविद् तथा वनस्पतिविज्ञले स्थानीय नवप्रवर्तनको सन्दर्भमा उदाहरण दिदै गर्दा एउटा नाम उच्चारण गर्नुभयो: “शेष नारायण महर्जन।” उहाँको स्वरमा रहेको आत्मविश्वास र सम्मानले त्यो नामलाई अझ विशेष बनायो। सरले उहाँका कामहरूको प्रसङ्ग खोल्दै जाँदा हामीभित्र जिज्ञासा बढ्दै गयो।
कुराकानीकै क्रममा सरले अचानक उहाँलाई फोन गर्नुभयो र केही क्षणमै हामी भेट्न आउछौ भन्नुभयो। संयोगले उहाँ घरमै हुनुहुँदो रहेछ र उहाले पनि हुन्छ स्वागत छ भन्नुभयो । कक्षाको सीमाभन्दा बाहिर निस्केर प्रत्यक्ष सिकाइतर्फ उन्मुख हुने त्यो क्षण आफैँमा उत्साहजनक थियो। त्यसपछि के चाहियो र! म मेरो बाइक स्टार्ट गरेर सरलाई पछाडि राखेँ, मेरो साथि सुमन तामाङ पनि आफ्नो बाइकमा हामि सँगै निस्किनु भयो ।
एउटा सानो उत्साह, अलिकति कौतुहल, अनि भित्रभित्रै के देख्न पाइन्छ भन्ने जिज्ञासा लिएर हामी ताहाचल क्याम्पस नजिकै रहेको उहाँको घरतर्फ लाग्यौँ। दिउँसो करिब १ बजेको समय, काठमाडौंको सामान्य दिन तर हाम्रो लागि त्यो दिन विशेष बन्ने संकेत त्यतिबेलै देखिन थालेको थियो । अन्तत उहाको घर पुगेर छततर्फ उक्लिँदा देखिएको दृश्य साँच्चिकै अद्भुत थियो। त्यो कुनै साधारण छानो थिएन त्यो एउटा सजीव, सन्तुलित र व्यवस्थित हरियालीको संसार थियो, जहाँ माटोले साँच्चिकै सास फेरिरहेको जस्तो लाग्थ्यो । टमाटरका बोटहरू, खुर्सानीका लहरहरू, धनियाँको सुगन्ध, चिनियाँ बन्दाकोबीका हरिया पातहरू सबै कुरा एकदमै व्यवस्थित र जीवन्त देखिन्थे।
त्यस्तै विभिन्न स्थानीय जातका रायोहरू पनि स्वस्थ अवस्थामा हुर्किरहेका थिए। हामी जाँदा काक्रो, घिरौला, सिमी, लौका, फर्सी, बकुल्ला जस्ता बालीहरू फलिरहेको त थिएनन् । तर, उहाँले यी सबै बालीहरू मौसमी रूपमा सफलतापूर्वक उत्पादन गर्दै आउनुभएको अनुभव विस्तारमा सुनाउनुभयो। यसले उहाँको छानामाथिको खेती निरन्तरता र विविधतामा आधारित प्रणाली भएको स्पष्ट देखाउथ्यो । फलफूलतर्फ कागती, सुन्तला, मुन्तला, अम्बा, ड्रागन फ्रुट जस्ता बोटहरू राम्रोसँग हुर्किरहेका थिए। चिसो मौसममा फल्ने प्रजातिहरूको सन्दर्भमा उहाँले एभोकाडो (गमलामा ग्राफ्टिङमार्फत) तथा स्याउ जस्ता बालीहरू परीक्षणका रूपमा उब्जाउने प्रयासहरू भइरहेको जानकारी पनि हामिलाइ दिनुभयो। यसले उहाँको सोच केवल उत्पादनमा सीमित नभई निरन्तर प्रयोग र सिकाइमा केन्द्रित रहेको देखाउथ्यो ।
फूलहरूको संसार पनि उत्तिकै आकर्षक थियो। Bamboo orchid , Chrysanthemum , वर्षभरि फूल्ने कट-फ्लावर प्रजातिहरू, र विशेषगरी नेवार समुदायमा आवश्यक पर्ने फूलहरूको संरक्षण गरिएको देख्दा खेतीसँगै संस्कृतिको जगेर्ना गर्ने प्रयास पनि स्पष्ट देखिन्थ्यो। पानीमा फक्रिएको वाटर लिलीले वातावरणलाई झन् मनमोहक बनाएको थियो। जडिबुटीतर्फ लेमन ग्रास, रोजबेरी, स्पियरमिन्ट लगायतका बोटहरूले त्यो स्थानलाई केवल बगैँचा नभई एउटा जीवित हरित प्रयोगशाला बनाएका थिए।
केही क्षण हामी मौन भयौँ। शहरको छानोमा यस्तो सम्भव छ भन्ने कुरा आँखैले देख्दा मात्रै विश्वास हुने रहेछ। शेष नारायण महर्जन सर सँग कुराकानी सुरु गर्दा उहाँको ज्ञान र अनुभवले हामीलाई झन् प्रभावित बनायो। मलाइ सुरुमा उहाँ कृषि विषयमा औपचारिक शिक्षा लिनुभएको व्यक्तित्व हो भन्ने लाग्यो । तर, उहाँले भन्नुभयो म त काम गर्दै सिक्दै आएको मान्छे हु । विदेश बसाइँका क्रममा सिकेका सीप, आफ्नै प्रयास, निरन्तर प्रयोग र असफलताबाट सिक्दै उहाँले यो स्तरको अनुभव हासिल गर्नुभएको रहेछ। उहाँको प्रत्येक कुरा व्यवहारसँग जोडिएको थियो ।
हामीले कक्षामा पढेका धेरै सैद्धान्तिक पक्षहरू उहाँको छानामै प्रत्यक्ष देख्न पाइयो। कुराकानि कै क्रमम हामीले पनि आफ्ना सिकाइका कुरा साट्यौँ, उहाँले ध्यानपूर्वक सुन्नुभयो र आफ्नै अनुभवसँग तुलना गर्दै थप स्पष्ट पार्नुभयो। करिब चार घण्टाको त्यो बसाइँ साँच्चिकै ज्ञान आदानप्रदानको सजीव कक्षा जस्तै बन्यो। उहाँको बगैँचामा सबैभन्दा प्रभावशाली पक्ष थियो—स्थानीय स्रोतको अधिकतम उपयोग र सृजनशील नवप्रवर्तन।
पुराना प्लास्टिकका बोतलहरूलाई काटेर बनाइएको बोटल गार्डेन, भित्तामा ठड्याएर बनाइएको भर्टिकल गार्डेन, र पाइपलाई एक तिहाइ काटेर बनाइएको संरचना जसले पानीको निकास (ड्रेनेज) व्यवस्थापन सहज बनाएको थियो यी सबै अत्यन्त व्यवहारिक र प्रेरणादायी अभ्यासहरू थिए । पानी व्यवस्थापनमा स्थानीय स्रोतबाट बनाइएको ड्रिप सिँचाइ प्रणाली, घरमै प्रयोग भएको पानी पुनः प्रयोग गर्ने अभ्यास, र बोटल सिँचाइ विधि अत्यन्त प्रभावकारी देखिन्थे ।
माटो व्यवस्थापनमा माटो, बालुवा, कम्पोस्ट , कोकोपिट र जैविक मलको सन्तुलित मिश्रण प्रयोग गरिएको थियो। कम्पोस्ट उहाँले Effective Microorganisms प्रयोग गरेर ड्रममा घरमै तयार गरेको पनि देख्यौ। झोल मल बनाउन सुन्तलाको बोक्रा, खुर्सानि , लसुन , बेसार , गहुत , गोबर लगायतका जैविक सामग्री प्रयोग गरिएको थियो। साथै, भर्मीकम्पोस्टमार्फत गँड्यौलाको प्रयोग गरी उत्कृष्ट मल उत्पादन भइरहेको थियो। अझ रोचक कुरा त के देखियो भन्दा उहाँको कौशि खेति प्रभाव उहाँको घरमा मात्र सीमित थिएन। वरिपरिका घरहरूमा पनि छानामाथि हरियाली देखिन्थ्यो जुन स्पष्ट रूपमा उहाँबाट प्रेरित प्रयासहरू थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस