बस्तीमा डोजर चलाएर गरिबका घर मात्र होइन, सपना पनि भत्काइयो - दुर्गा प्रसाईँ
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले गरिब तथा श्रमिक वर्गमाथि अन्याय भएको आरोप लगाउँदै घर भत्काउने कार्यले हजारौँ नागरिकको सपना चकनाचुर भएको बताए ।
प्रसाईँले बालेन शाह सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गर्दै फाँसीवादी शैलीमा शासन चलाउन खोजिरहेको आरोप लगाएका छन् ।
उनले भने, “जीवनभरको मेहनतबाट बनाएका घरहरू भत्काइए । कसैले मकै बेचेर, कसैले गिट्टी बोकेर, कसैले मजदुरी गरेर घर बनाएका थिए । घर मात्र होइन, गरिबका सपना पनि भत्काइयो ।”
प्रसाईँका अनुसार डोजर कारबाहीका क्रममा वृद्ध आमाहरू, एकल महिलाहरू तथा लघुवित्त र सहकारीबाट पीडित नागरिकहरू रोइरहेको दृश्य अत्यन्त पीडादायी थियो ।
उनले चुनावअघि नै आफूले विभिन्न दललाई एकजुट भएर चुनावमा नजान सुझाव दिएको दाबी गर्दै “बालेनलाई प्रधानमन्त्री बनाएर गरिब लखेट्ने योजना बनाइएको” आरोपसमेत लगाए ।
उनले देशलाई धनी वर्ग केन्द्रित ‘सिटी’ बनाउने प्रयास भइरहेको टिप्पणी गर्दै मजदुर, ड्राइभर, खलासी, मोची, नाईलगायत श्रमिक वर्गको पनि समान आवश्यकता रहेको बताए ।
प्रसाईँले अहिले घण्टी चुनाव चिन्हमा मतदान गरेका नागरिकसमेत पछुतो मान्ने अवस्थामा पुगेको दाबी गरे । साथै उनले केपी शर्मा ओली जस्तै शक्ति आफ्नो हातमा केन्द्रित गर्ने प्रवृत्ति खतरनाक हुने चेतावनी दिँदै “शक्ति भनेको जनता हो भन्ने नबिर्सन” आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस