महाङ्कालको बारीदेखि भान्सासम्म: १३ दिनमा तयार हुने गुन्द्रुकको कथा
एउटा कृषि विज्ञानको विद्यार्थी भएकाले हरेक ठाउँ पुग्दा कृषकका गतिविधिमा चासो राख्नु स्वभाविकै हो । एकदिन मेरो यात्रको शिलशिलामा म दक्षिण ललितपुरको महाङ्काल-३ स्थित जब्का भन्ने गाउँमा पुगेको थिँए। त्यहाँ पुग्दा मेरो नजर बाटो छेउको करेसा बारीमा गुन्द्रुक बनाउँदै गरेकी धनमाया तामाङकोमा पुग्यो।
कति पनि ढिला नगरी मैले उहाँलाई सोधिहाले, “दिदी! गुन्द्रुक बनाउँदै हुनुहुँदोरहेछ, यो तयारी हुन काति समय लाग्छ नि?” हातमा साग समातेर गुँन्द्रुक बनाउने तयारीमा रहेकी दिदीले मुस्कुराउँदै भन्नुभयो, “गुँद्रुक बनाउन त धैर्य चाहिन्छ नि बाबु, हतारले हुँदैन।” उहाँले दिनुभएको यो उत्तरमा मैले उहाँमा रहेको त्यो पुरानो सीप र अनुभवको गहिराइ महसुस गर्न थाले।
बाटो ज्यादै उकालो थियो, त्यसमाथि धेरै समय पनि हिँडिसकेको हुनाले थकाइ मार्ने र केहि नँया कुरा सिक्ने मनासयले एकैछिन त्यहीँ बसि मैले उहाँबाट गुन्द्रुक बनाउने बिधिबारे सिक्ने निधो गरेँ। दिदी पनि केहि सङ्कोच नमानी उँहाको आफ्नो काम गर्दै त्यसको बारेमा मलाई सिकाउन तयार हुनुभयो। त्यसपछि म पनि उहाँसँगै बारीतिर लागेँ।
उहाँले करेसाबारीबाट जरा र पात सहितको मुला उखालेर ल्याउनुभयो र धारामा सफा पानीले राम्ररी धुनुभयो। त्यसपछि पात सहितको पखालिएको मुलालाई काठको फराकिलो अचानो माथि राखेर स-सानो टुक्रा हुने गरी काठकै मुङ्ग्रोले कुट्नुभयो। किण्वन (अर्थात सागलाई केहि दिन थन्काएर राख्द आफैँ स्वादिलो, अमिलो र सुरक्षित बन्ने प्रकृया) गर्नुपूर्व यसो गर्नाले किण्वनका लागि साग छिटो तयार हुनुका साथै किण्वन प्रक्रिया छिटो हुने रहेछ।
त्यसैगरी, उहाँले ती कुटिएका स-साना पात सहितको मुलाका टुक्रहरुलाई बाँसको चोयाबाट बनेको मान्द्रोमा राम्ररी फिजाएर सुकाउनुभयो। उँहाले यसरी सुकाउने काम गरिराख्द लाग्थ्यो यो काम उँहाले बर्षौदेखि गर्दै आउनुभएको हो। धनमाया दिदीबाट गुन्द्रुक तयार हुन सरदर ६ देखी १३ दिन लाग्ने कुरा थाहा पाएपछि गुँन्द्रुक तयारीको त्यसपछिको चरणलाई उहाँले मौखिक रुपमै भन्नुभयो।
धनमाया दिदीका अनुसार मुलाको जरा सहितको पातलाई घाममा मौसम हेरी १ देखि ३ दिन सम्मा सुकाइन्छ र त्यसको नमी घटेर (अर्थात सागमा पानीको मात्र) निश्चित मात्रमा पुगेपछि त्यसलाई उठाएर माटोले बनेको सफा घ्याम्पो वा प्लास्टिकको ड्रममा खाँदिने गरी हालिन्छ र भाँडोको मुखलाई बिर्को वा सफा प्लास्टिक वो धोक्रोले बन्द गरिन्छ। त्यसपछि गुँन्द्रुकको किण्वनको लागि गोठेमलको थुप्रोको बिच भागमा पर्ने गरी भाँडो अट्ने आकारको खाल्डो खनिन्छ र त्यसमा भाँडो राखी ४ देखि ७ दिन सम्म राखिन्छ। उँहाले यो चरणमा भाँडोभित्रको साग प्रकृतिक रुपमै विस्तरै किण्वन हुँदै खट्टा स्वादमा परिणत हुने कुरा बताउनुभयो।
अझ रोचक कुरा त तब थाहा भयो जब साग र मुलाको जरा दुबै गुँन्द्रुक बनाउन प्रयोग गर्दा किण्वनको क्रममा जराबाट निस्कने झोलले गुन्द्रुकलाई अझ खट्टा र स्वदिलो बनाउँने रहेछ। अन्त्यमा, केही दिनमा किण्वन प्रकृया सकिन्छ र भाँडोभित्रको सागलाई निकालेर घाममा २ देखि ३ दिन सम्मा सुकाइन्छ। “यसरी सुकिसकेपछि हामीले हाम्रो भान्छामा स्वादिलो तरकारीको रुपमा प्रयोग गर्न सकिने गुँन्द्रुक प्राप्त गर्न सक्छौँ, जसलाई लामो समय सम्मा भण्डारण गरी आवश्यक अनुसार उपभोग वा बिक्री पनि गर्न सक्छौ”, धनमाया दिदी मुस्कुराउँदै भन्नुहुन्छ।
गुँन्द्रुक बनाउने यो प्रकृया केवल धनमाया तामाङको दैनिक जीवनसँग मात्र गाँसिएको छैन, यो त हाम्रो गाउँघरको परम्परा, सीप र आत्मनिर्भर जीवनशैलीको उदाहरण पनि रहेछ। त्यहाँ बसेर मैले साधरण देखिले गुँन्द्रुकभित्र गाँउको अनुभव, समय र मेहनत सबै मिसिने रहेछ भन्ने बोध गरेँ।
साधरण स्थानीय सीप र प्रयासबाट तयार हुने यो खद्य पदार्थ पोषण, स्वाद र आर्थिक सम्भावन तीनै पक्षमा भरिपूर्ण छ, जसलाई आधुनिक प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउन सकिन्छ।
(लेखक तामाङ त्रिवि केन्द्रिय क्याम्पसमा कृषि विज्ञानमा स्नातकोेत्तर अध्ययनरत हुनुहुन्छ)




तपाईको प्रतिक्रिया दिनुहोस