Techie IT
२०८३ जेष्ठ २९, शुक्रबार

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई सरकारको चेतावनी, मापदण्ड मिचे कडा कारबाही


सिर्सिया नदी कोरिडोरका उद्योगहरूले मापदण्डविपरीत सिधै फोहोर पानी विसर्जन गरी प्रदूषण फैलाएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सिर्सिया क्षेत्रका उद्योगहरूले फोहोर पानी प्रशोधन नगरी नदी र खोलामा मिसाएको भन्दै विभिन्न माध्यमबाट उजुरी परेको र सञ्चार माध्यममा समेत समाचार सार्वजनिक भएकाले यस्तो चेतावनी दिएको हो।

प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता, क्षमता वृद्धि वा वातावरणीय अध्ययन प्रतिवेदन (EIA/IEE) स्वीकृत गर्दा उत्पादन प्रक्रियाबाट निस्कने फोहोर पानी व्यवस्थापनका लागि 'फोहोर पानी प्रशोधन प्रणाली' (Effluent Treatment Plant - ETP) जडान गरी सञ्चालन गर्नु अनिवार्य हुन्छ।

मन्त्रालयले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित प्रदूषण न्यूनीकरणका उपायहरू तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सरकारले तोकेको मापदण्डभित्र रहेर मात्र फोहोर पानी विसर्जन गर्न उद्योगहरूलाई कडा निर्देशन दिएको छ।

नदी र खोला प्रदूषण गरिनु मानव स्वास्थ्यको दृष्टिले समेत गम्भीर अपराध सरह रहेको मन्त्रालयको ठहर छ। विज्ञप्तिमा भनिएको छ, 'सम्पूर्ण उद्योग प्रतिष्ठानहरूले प्रचलित औद्योगिक तथा वातावरणीय कानुन र मापदण्डको पूर्ण परिपालना गरेर मात्र उद्योग सञ्चालन गर्न मन्त्रालय अनुरोध गर्दछ।'

यदि औद्योगिक तथा वातावरणीय मापदण्ड उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बद्ध निकायहरूबाट कडाभन्दा कडा कानुनी कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट