जनकपुर बोल्ट्सबाट खेल्ने को हुन् अलराउन्डर मोइन अली ?
नेपाल प्रिमियर लिग (NPL) को आगामी संस्करणका लागि जनकपुर बोल्ट्सले ठूलो अनुबन्धन गरेको छ। टोलीले इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई खरिद गर्दै आफ्नो टोलीलाई थप बलियो बनाएको हो।
३८ वर्षीय मोइन अलीले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ एकदिवसीय (ODI) र ९२ ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनीसँग टेस्टमा ३ हजार ९४ रन र २०४ विकेट, एकदिवसीयमा २ हजार ३५५ रन र १११ विकेट तथा टी–२० अन्तर्राष्ट्रियमा १ हजार २२९ रन र ५१ विकेट लिएको उत्कृष्ट कीर्तिमान छ।
टेस्ट क्रिकेटमा ५ शतक र १५ अर्धशतक प्रहार गरेका अलीले सन् २०१९ को एकदिवसीय विश्वकप र २०२२ को टी–२० विश्वकप जित्ने इंग्ल्यान्डको टोलीमा समेत महत्त्वपूर्ण भूमिका निभाएका थिए।
इन्डियन प्रिमियर लिग (IPL), पाकिस्तान सुपर लिग (PSL) र बंगलादेश प्रिमियर लिग (BPL) जस्ता विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूको अनुभव सङ्गालेका अलीको आगमनले मधेस प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सको प्रदर्शन थप सशक्त हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस