कोशी र बागमतीमा वर्षा हुँदा तराईमा अत्यधिक गर्मी बढ्ने
काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा र तराईमा अत्यधिक गर्मी (तातो लहर) को दोहोरो मौसम विकसित भइरहेको छ।
हाल कोशी प्रदेश लगायत देशका अन्य हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ भने तराईका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग, लुम्बिनीको हिमाली क्षेत्र र कोशीको तराई भूभागमा साधारणतया बदली रहनेछ। यस्तै, लुम्बिनीको पहाडी र मधेस प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। देशका अन्य तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशीको तराई र मधेस प्रदेशका एक-दुई स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
तराईमा तातो लहर (लू) को चेतावनी
वर्षाको सम्भावना भइरहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अत्यधिक गर्मी र तातो लहर (Heat Wave/लू) चल्ने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि 'तातो दिन' हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले ध्यानाकर्षण गराएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली र पहाडी क्षेत्र तथा कोशीको तराईमा आंशिक बदली हुँदा अन्य तराई क्षेत्रको मौसम भने सफा रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भेगका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक-दुई स्थानमा राति पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस