Techie IT
२०८३ मंसिर ३, बुधबार

बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना


सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। मङ्गलबार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खस्दा उक्त दुर्घटना भएको हो। 

दुर्घटनामा परी गाडीमा सवार सबै १४ जना घाइते भएको र उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने बाँकी पाँच जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। पहिचान खुलेका घाइतेहरूमा धनुषाको शहीदनगर नगरपालिका–८ बस्ने सवारी चालक दीपककुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानीकुमारी मण्डल तथा शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्। यसैगरी, ललितपुरको भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह र उनका तीन छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह र ३ वर्षीया ओमी साहसमेत घाइते भएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएर घाइतेहरूको उद्धार गरेको थियो। 

पहिचान खुल्न बाँकी रहेका अन्य पाँच जना घाइतेको विवरण सङ्कलन भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट