एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने
नेकपा (एमाले) ले भोलि बुधबारदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र सङ्गठन परिचालनमा केन्द्रित गर्ने भएको छ। मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले भेलाको अन्तिम तयारीबारे समीक्षा गर्दै निर्वाचनकेन्द्रित रणनीति तय गर्ने निर्णय गरेको हो।
बैठकपछि निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र अबको कार्ययोजनासम्बन्धी राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए।
त्यसैगरी, वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक परिस्थिति र पार्टीको आगामी कार्यभारसम्बन्धी कार्यपत्र पेस गर्ने कार्यतालिका तय भएको छ। देशभरबाट ३ हजार ४ सय १४ जना प्रतिनिधि सहभागी हुने यस भेलाले पार्टी पङ्क्तिलाई पूर्ण रूपमा चुनावमुखी बनाउने लक्ष्य राखेको छ।
यसैबीच, स्थायी कमिटी बैठकले आगामी मङ्सिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक एक दिन अगाडि अर्थात् मङ्सिर ४ गते नै बोलाउने निर्णय गरेको छ। राष्ट्रिय भेलाबाट प्राप्त सुझावहरूलाई समेटेर तत्कालै ठोस निर्णय लिनका लागि बैठकको मिति हेरफेर गरिएको एमालेले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस