अविरल वर्षाले देशका प्रमुख सडकहरू अवरुद्ध
पछिल्लो समय देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ भने प्रमुख राजमार्ग तथा सडक सञ्जालहरू गम्भीर रूपमा प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, प्राकृतिक विपद्का कारण देशका महत्वपूर्ण सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन् भने कतिपय स्थानमा रात्रिकालीन सवारी आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ।
प्रहरीका अनुसार बाढी र पहिरोको उच्च जोखिम रहेका बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्तिलोकपथमा बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
त्यसैगरी, इलामको मेची राजमार्ग हिलाम्मे भएर सवारी आवागमन बन्द भएको छ भने अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यस्तै, दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी खोला र रसुवाको पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात सेवा ठप्प भएको छ। वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र उच्च सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस