आज यी स्थानमा भारी वर्षा र चट्याङ्ग पर्ने सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यसको प्रभावले हाल कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली (आकाशमा बादल) तथा तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोको मौसम:
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसम:
आज राति पनि देशभर साधारणतया बदली कायम रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, रातिकको समयमा कोशी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षा र चट्याङ्ग पर्ने क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस