Techie IT
२०८३ मंसिर १, सोमबार

कोप–३१ का कठिन विषयमा शीघ्र निर्णय लिन राष्ट्रसङ्घको दबाब


संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु सम्मेलन (कोप–३१) लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचिलो बन्न र सहमतिका लागि रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन्। कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै देशबीच सहमति र सम्झौता हुन नसकेसम्म सम्मेलनको सामूहिक सफलता सम्भव नहुने स्पष्ट पारे। करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै स्टिलले वार्ताको दोस्रो सातामा प्रवेश गर्दा कठिन विषयमा शीघ्र निर्णय लिनुपर्ने र वार्ता लम्ब्याउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए।

विश्वव्यापी तापक्रम वृद्धिका कारण बढ्दो आर्थिक भार र ऊर्जा बजारको अस्थिरताले राष्ट्रहरूलाई जलवायु परिवर्तनप्रति थप गम्भीर बनाएको स्टिलको भनाइ छ। नवीकरणीय ऊर्जा आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुरक्षित ऊर्जाको आधार बन्दै गएको उल्लेख गर्दै उनले विद्युतीकरण, जलवायु वित्तमा सहज पहुँच, सुदृढ पूर्वाधार र विपद्बाट नागरिकको सुरक्षालाई वार्ताको मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरे। एउटा सम्मेलनले मात्र जलवायु सङ्कटको तत्काल अन्त्य गर्न नसक्ने भएकाले प्रत्येक सम्मेलनबाट ठोस प्रगति हासिल हुनुपर्ने र यस अभियानमा विश्वभरका अर्बौं नागरिकलाई जोड्नुपर्ने उनले बताए।

जलवायु परिवर्तनका असर र समाधानलाई नागरिकको दैनिक जीवन, स्वास्थ्य र रोजगारीसँग जोड्न खेलकुद, चलचित्र, सङ्गीत तथा कलालाई प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा स्टिलले विशेष जोड दिए। विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मीले खेलाडीको स्वास्थ्य र प्रदर्शन प्रभावित भएको तथा दर्शकसमेत अस्पताल भर्ना हुनुपरेको उदाहरण दिँदै उनले खेलकुद क्षेत्रलाई जलवायुअनुकूल बनाउन आवश्यक रहेको बताए। सोही अवसरमा पत्रकार भेनेस्सा हाउकले विश्वकपका करिब एक चौथाइ खेल जोखिमपूर्ण मौसममा हुन सक्ने अध्ययनले देखाएको उल्लेख गर्दै टेलिमुन्डोले पानी पिउने विश्रामको समयमा विज्ञापन नबजाई खेलाडीले तापक्रम नियन्त्रण गर्न गरेका प्रयास र जलवायु विज्ञानका जानकारी दर्शकमाझ पुर्‍याएको अनुभव सुनाइन्।

यसैगरी, भारतीय संस्था पीएलयुसीका प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु कार्यसँग जोड्नुपर्ने धारणा राखे। भारतमा वार्षिक एक हजार ८०० भन्दा बढी चलचित्र बन्ने उल्लेख गर्दै उनले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा सञ्चालित पटकथा लेखन प्रयोगशालामार्फत लोकप्रिय विधाका कथामा जलवायुका विषय समेट्न प्रोत्साहित गरिएको जानकारी दिए। 

भारतका १७० चलचित्र स्टुडियोको सहकार्यमा ‘हरित चलचित्र उत्पादन निर्देशिका’ तयार पारिएको बताउँदै हुसेनले चलचित्रका कथावस्तुसँगै निर्माण प्रक्रियालाई पनि कम उत्सर्जनयुक्त बनाउन सके सिर्जनात्मक अर्थतन्त्रले जलवायु कार्यमा आमनागरिकलाई प्रेरित गर्न सक्ने विश्वास व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट