कोपमा जानेहरूको भ्रमण खर्चको स्रोत सार्वजनिक गर्न सांसद कार्कीको माग
सत्तारूढ दलका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले आफ्नो भ्रमण खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कोपमा सहभागी हुनेहरू सरकारी खर्चमा गएका हुन् वा व्यक्तिगत तथा संस्थागत प्रायोजनमा पुगेका हुन् भन्ने विषय स्पष्ट पार्नुपर्ने बताएका हुन्।
कोपमा सहभागी हुनेहरूको सङ्ख्या हरेक वर्ष उल्लेख्य रहने गरेको उल्लेख गर्दै सांसद कार्कीले व्यक्तिगत रुचिका लागि राज्यको ढुकुटी र सरकारी खर्च प्रयोग गर्न नहुने धारणा राखेका छन्। वातावरणका विद्यार्थीहरूका लागि यस्ता सम्मेलनमा सहभागी हुनु सिकाइ र अनुभवका दृष्टिले महत्त्वपूर्ण भए पनि त्यसका नाममा सरकारी स्रोतको दुरुपयोग गर्न नहुने उनको भनाइ छ।
कोपको निर्णय तथा छलफल प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिले पनि सम्मेलनका विषयवस्तु र उपलब्धि बाहिरैबाट बुझ्न सक्ने उनले उल्लेख गरेका छन्। यसपटक पनि कोपमा सहभागी हुन टर्की जानेहरूको सङ्ख्या बढेको देखिएको भन्दै सांसद कार्कीले भ्रमणमा जाने सबैले आफू सरकारी खर्चमा गएको वा नगएको सार्वजनिक रूपमा घोषणा गर्नुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस