सुदूरपश्चिममा गौरापर्वको मुख्य दिन ‘अठ्यावाली’ धुमधामसहित मनाइँदै

सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली धुमधामका साथ मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानै बर्तालु महिलाले गौरामन्दिरको गौराखलामा लगेर पूजाआजा गर्ने परम्परा रहिआएको पण्डित जयानन्द भट्टले जानकारी दिएका छन् ।
बर्तालु महिलाले दिनभर बिरुडा (पाँच थरिका अन्न) अर्पण गर्दै फाग गाउँदै गौरादेवीको पूजा गर्ने प्रचलन छ। शनिबार चढाइएको दुबधागो आजै महिलाले धारण गर्ने गर्दछन्। यो धागोलाई यहाँका महिलाले तागाधारी पुरुषहरूले जनै धारण गरेझैँ अटल सौभाग्य र सुरक्षाको प्रतीकका रूपमा ग्रहण गर्छन्।
गौराघरबाट सिँगारिएको गौरालाई गौराखलामा लगेर महिलाले सामूहिक रूपमा अठ्यावाली गाउँदै पूजा गर्ने गर्छन् । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायतका प्रसङ्ग फागमार्फत गाउने चलन छ । पूजापछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले महिलाले आफ्ना श्रीमान्, सन्तान र परिवारको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै टाउको पुज्ने गर्छन् ।
यस दिन पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीजस्ता ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने परम्परा छ। संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार गौरापर्वलाई महिलाले आफ्नो अटल सौभाग्य, परिवारको शान्ति र समृद्धिको लागि विशेष व्रतका रूपमा मनाउने विश्वास रहिआएको छ।
दसैंभन्दा पनि बढी महत्वका साथ मनाइने गौरापर्वका लागि परदेशमा रहेका सुदूरपश्चिमेलीहरू घर फर्कने गर्दछन्। यस अवसरमा विवाहित चेलीहरू पनि माइत आउने परम्परा रहेको छ।
गौरापर्वको अवसरमा आइतबार र सोमबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले सोमबार भदौ १६ गते बिदा घोषणा गरेपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्था उजागर गर्ने बताए। उनले विशेषगरी कर्णाली र सुदूरपश्चिममा ठूलो उत्साहका साथ मनाइने यो पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छोड्नुका साथै एक विशिष्ट पहिचान निर्माण गरेको उल्लेख गरे।
तपाईको प्रतिक्रिया दिनुहोस