नेपालमा कात्तिक ११ देखि ठूलो झरी र हिमपातको खतरा, सतर्क रहन चेतावनी
बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई नेपालतर्फ सोझिने जोखिम बढेको छ। शुक्रबार पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा बनेको यो प्रणाली कात्तिक ९ गते (सोमबार) चक्रवात आँधीमा परिणत हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार उक्त चक्रवात भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै जमिनमा प्रवेश गरेर पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्नेछ। यसको सीधा असर कात्तिक ११ (बुधबार) देखि १५ गते (आइतबार) सम्म नेपालको मौसममा पर्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसमी मोडलहरूले नेपालका केही क्षेत्रमा कुल २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने संकेत गरेका छन्। कात्तिकको यो समय धान भित्र्याउने र हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्ने मुख्य सिजन भएकाले यसले कृषक र पर्यटकहरूलाई ठूलो नोक्सानी पुर्याउन सक्ने जोखिम छ।
विशेष गरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात, चिसो र हिमपहिरोको खतरा रहेको छ। मौसमी मोडलहरूले सन् २०१४ अक्टोबरमा अन्नपूर्ण क्षेत्रमा ४३ जनाको ज्यान लिने गरी आएको ‘हुदहुद’ चक्रवातसँग मिल्दोजुल्दो संकेत देखाएका छन्। पूर्वतयारी र सतर्कता अपनाउन सके क्षति न्यूनीकरण गर्न सकिने मौसमविद्हरूको भनाइ छ।
बंगालको खाडीको यो प्रणाली नेपालनजिक आउँदा माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग ठोक्किएमा वर्षा र हावाहुरी थप भयानक हुन सक्नेछ। अघिल्ला वर्षाले कमजोर बनेका भिरालो जमिन र राजमार्गहरूमा पहिरो तथा बाढीको जोखिम उच्च रहने भएकाले विभागले यात्रा गर्दा र कृषि कर्ममा लाग्दा आधिकारिक मौसम सूचनाका आधारमा मात्र निर्णय लिन अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस