Techie IT
२०८३ कार्तिक ८, शनिबार

८ महिना खाल्डोमा लुकेका घाइते युक्रेनी सैनिकको ड्रोनबाट उद्धार


रुस-युक्रेन युद्धको अग्रपंक्ति (किल जोन) मा करिब १६ महिना र गम्भीर घाइते अवस्थामा ८ महिनासम्म खाल्डोमा बिताएका एक युक्रेनी सैनिकको विशाल ड्रोनमार्फत चमत्कारिक उद्धार गरिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार, युक्रेनको ३०औँ मेकानाइज्ड ब्रिगेडमा कार्यरत ४९ वर्षीय सैनिक कोस्तियान्तिन भ्लासेन्कोलाई अक्टोबर ४ मा खार्किभ क्षेत्रबाट ६ वटा पङ्खा भएको विशाल ‘हेभी सट आयुदाग–६’ (Ayudag-6) ड्रोनमार्फत आकाशबाट १५ किलोमिटर टाढा सुरक्षित स्थानमा पुर्‍याइएको हो। आधुनिक युद्धको इतिहासमा ड्रोनबाट सैनिकको यस्तो हवाई उद्धार (Aerial Rescue) पहिलो भएको मानिएको छ।

आफैँले चक्कुले काटेका थिए खुट्टा

सन् २०२५ देखि युद्ध मैदानमा खटिएका भ्लासेन्को गत फेब्रुअरीमा रुसी ड्रोन आक्रमणमा परी गम्भीर घाइते भएका थिए। उक्त आक्रमणमा उनका साथी मारिए भने उनको बायाँ खुट्टा छिन्नभिन्न भयो र दायाँ खुट्टामा गम्भीर चोट लागेको थियो ।

दुवै खुट्टाले काम नगरेपछि उनी ध्वस्त भएको एक विद्यालयको तताउने उपकरण (बोइलर) मुनि रहेको ८०×६० सेन्टीमिटरको साँघुरो खाल्डोमा लुकेका थिए। बायाँ खुट्टा कुहिन थालेपछि र दायाँ खुट्टाको हड्डी बाहिर निस्किएपछि उनले अद्भूत साहस देखाउँदै आफ्नै चक्कुले खुट्टाको तल्लो भाग काटेका थिए र रगत रोक्न औषधि लगाएका थिए।

उनी लुकेको क्षेत्रमा चारैतिर बारुदी सुरुङ (ल्याण्डमाइन) थिए भने रुसी ड्रोनले निरन्तर निगरानी गरिरहेका थिए। उनलाई लिन हिँडेका अन्य सैनिक र जमिनबाट पठाइएका दुईवटा मानवरहित गाडी (रोबोट) समेत बाटोमै आक्रमणमा परेर ध्वस्त भएका थिए।

जमिनबाट उद्धार असम्भव भएपछि युक्रेनी कमाण्डरहरूले युक्रेनकै ‘गुर्जुफ डिफेन्स’ कम्पनीले बनाएको ९० किलोसम्म तौल बोक्न सक्ने ‘आयुदाग–६’ ड्रोन प्रयोग गर्ने रणनीति बनाए।

यसरी भयो आकाशबाट जीवनदान

उद्धारको अघिल्लो दिन एउटा सानो ड्रोनमार्फत भ्लासेन्कोलाई विशेष सुरक्षा पेटी (Harness) र त्यसको प्रयोग गर्ने भिडियोसहितको फोन पठाइएको थियो। अक्टोबर ४ मा मुख्य उद्धार ड्रोन उनी लुकेको ठाउँमा पुग्यो।

भ्लासेन्कोले आफूलाई सुरक्षा पेटीमा बाँधेर ड्रोनको क्लिपमा अड्याए। ड्रोनले उनलाई ७० मिटर (२३० फिट) माथि हावामा झुन्ड्याएर ७० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा १५ किलोमिटर टाढा सुरक्षित स्थानमा पुर्‍यायो। उद्धारका क्रममा रुसी आक्रमणबाट बचाउन अन्य ३ वटा ‘भ्याम्पायर’ ड्रोन र तोपखानाले रुसी पोजिसनमा निरन्तर प्रहार गरेर ध्यान मोडेका थिए।

१६ महिनापछि अस्पतालको बेडबाट प्रतिक्रिया दिँदै भ्लासेन्कोले भने, “मैले जीवित फर्कने आशा मारिसकेको थिएँ, तर साथीहरूले रेडियो र ड्रोनबाट खाना पठाइरहँदा बाँच्ने हिम्मत आयो।”

यो उद्धार युक्रेनको तीव्र रूपमा विकास भइरहेको ड्रोन उद्योगको उपज हो। सन् २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनले सैन्य प्रविधिमा ठूलो फड्को मारेको छ। रक्षा मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यसबर्ष सेनालाई ३.७ गुणा बढी ड्रोन आपूर्ति गरिएको छ। यद्यपि, पार्टपुर्जाका लागि चीनमाथिको निर्भरता र आपूर्ति शृङ्खलाका चुनौतीहरू भने अझै कायम छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट