अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै आज छठ पर्वको मुख्य दिन मनाइँदै
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ अर्पण गरिँदैछ।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि छ। चार दिनसम्म मनाइने यो पर्व शनिबार कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको हो।
महाभारतमा वर्णन अनुसार, द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको जनश्रुति छ। सूर्य पुराणका अनुसार, सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूया (अनुसूया देवी) ले छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। त्यसै समयदेखि छठ पर्व मनाउने चलन सुरु भएको विश्वास छ।
सूर्यबिना पृथ्वीमा जीवन असम्भव मानिन्छ। सूर्यको किरणले रोग निवारण, स्वास्थ्य सुधार र ऊर्जा प्रदान गर्ने विश्वास रहिआएको छ। साम्ब पुराणमा उल्लेख भएअनुसार, भगवान् श्रीकृष्णका छोरा साम्ब सूर्यको आराधनाद्वारा कुष्ठरोगबाट मुक्त भएका थिए। त्यसैले छठ पर्वमा सूर्यदेवको आराधनाले दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।
व्रतविधि
छठ पर्व चार दिन मनाइन्छ
पहिलो दिन (चतुर्थी) : स्नान गरी घर सफा गर्ने र चोखो भोजन ग्रहण गर्ने।
दोस्रो दिन (पञ्चमी) : ‘खरना’ भनिने विधिमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई अर्पण गरी प्रसादका रूपमा खाने।
तेस्रो दिन (षष्ठी) : मुख्य दिन। निर्जल व्रत बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ।
चौथो दिन (सप्तमी) : बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी व्रत समापन गरिन्छ।
व्रतविधिपूर्वक सूर्य आराधना गर्दा चर्मरोग नलाग्ने र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। विगतमा मुख्यतया तराई क्षेत्रमा सीमित रहेको यो पर्व अहिले पहाडी र हिमाली क्षेत्रमा पनि समान उत्साहका साथ मनाइँदै आएको छ। सामाजिक एकता र सद्भावका प्रतीकका रूपमा यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ।
सरकारले छठ पर्वको मुख्य दिन सार्वजनिक बिदा दिँदै आएको छ। विसं २०४६ पछि छठलाई औपचारिक रूपमा राष्ट्रिय पर्वको मान्यता दिइएको हो।
छठ पर्वका अवसरमा राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, कुपण्डोल, गहनापोखरीलगायत स्थानमा पूजा स्थलहरू निर्माण गरी विशेष सजावट गरिएको छ। गुह्येश्वरी–गौरीघाट छठ पूजा समितिका अनुसार, आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्नेछन् र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै पर्व समापन गर्नेछन्।
छठ पर्व सूर्यपूजासँगै मातृपूजाको पर्व पनि हो। यसमा छठी माताको पूजा गरिन्छ, जसले मातृत्व, समर्पण र पारिवारिक दायित्वको प्रतीक जनाउँछ। मूलतः महिलाहरूले पति र सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिका लागि व्रत बस्ने परम्परा रहे पनि हाल पुरुषहरू पनि व्रतीका रूपमा सहभागी हुन थालेका छन्।
सनातन परम्परामा छठलाई ‘सूर्य षष्ठी’ पनि भनिन्छ। वर्षमा दुई पटक कात्तिक र चैत महिनामा यो पर्व मनाइन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस