जन्तर-मन्तरमा 'कक्रोच जनता पार्टी'को शक्ति प्रदर्शन
भारतमा पछिल्लो समय चर्चामा रहेको विभिन्न परीक्षा तथा भर्ती प्रक्रियाको 'पेपर लिक' प्रकरणलाई लिएर केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै 'कक्रोच जनता पार्टी'ले शनिबार दिल्लीको जन्तर–मन्तरमा ५ घण्टा लामो विरोध प्रदर्शन गरेको छ । पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा भएको उक्त प्रदर्शनमार्फत मन्त्रीलाई राजीनामा दिन ५ दिनको अल्टिमेटम (समयसीमा) दिइएको छ । तोकिएको समयभित्र माग पूरा नभए आगामी शनिबार (१३ जुन) पुनः जन्तर–मन्तरमा भेला भई देशव्यापी आन्दोलन चर्काउने घोषणा पार्टीले गरेको छ ।
विरोध प्रदर्शनमा सहभागी हुन अमेरिकाबाट शनिबार बिहानै दिल्ली उत्रिएका अभिजीत दीपके विमानस्थलबाट सिधै जन्तर–मन्तर पुगेका थिए । हातमा डा. बी.आर. अम्बेडकरको आत्मजीवनी र भारतीय संविधानको प्रतिलिपि बोकेर पुगेका उनले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको अवधिमा ५ पटक संक्षिप्त सम्बोधन गर्दै शिक्षा मन्त्रीको राजीनामाका लागि दबाब दिएका थिए । साँझ ५ बजेसम्म प्रदर्शन गर्ने अनुमति भए तापनि दिउँसो ३ः३० बजेतिर दीपकेको स्वास्थ्य अवस्था बिग्रेपछि कार्यक्रम केही समय अगावै स्थगित गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सामाजिक अभियन्ता सोनम वाङ्गचुकका साथ प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।
उक्त विरोध प्रदर्शनमा सामाजिक अभियन्ता सोनम वाङ्गचुकका साथै सीपीआई (एमएल) लिबरेसनका महासचिव दीपाङ्कर भट्टाचार्य, सीपीआई नेत्री एनी राजा र विभिन्न वामपन्थी विद्यार्थी तथा युवा संगठनका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । मञ्चबाट सम्बोधन गर्दै सोनम वाङ्गचुकले शान्तिपूर्ण प्रदर्शनका लागि अपिल गरेका थिए । कार्यक्रममा ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष राङ्का पनि सहभागी थिए, जो आईआईटी कानपुरबाट दीक्षित भई गत वर्ष मात्र लण्डनबाट भारत फर्किएका हुन् ।
प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था निकै कडा पारेको थियो । इन्दिरा गान्धी विमानस्थल, मुख्य रेलवे स्टेशन, बस पार्क र दिल्लीका सीमानाकाहरूमा १ हजारभन्दा बढी प्रहरी जवान परिचालन गरिएको थियो । बजार र संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले विशेष सतर्कता अपनाएको थियो । प्रदर्शन सकिएपछि दिल्ली प्रहरीले सामाजिक सञ्जालमा फैलिएका हल्लाहरूको खण्डन गर्दै प्रदर्शनकारीहरू विरुद्ध कुनै पनि एफआईआर (जाहेरी) दर्ता नगरिएको स्पष्ट पारेको छ । प्रदर्शनस्थलबाट बाहिरिएपछि अभिजीत दीपकेले आफू आमाबुबालाई भेट्न घर जान लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस