ओलीप्रति ईश्वर पोखरेलले गरे यस्तो व्यङ्ग्य
नेकपा (एमाले) भित्रको आन्तरिक नेतृत्वको बहस फेरि सतहमा आएको छ। एमाले निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै घुमाउरो तर कडा व्यङ्ग्य प्रहार गरेका छन्।
सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले सुनाएको एउटा पुरानो 'किस्सा'को प्रसंग कोट्याउँदै पोखरेलले पार्टीभित्र "आफूबाहेक कोही पनि पदमा पुग्न योग्य नभएको" भन्ने नेतृत्वको दम्भमाथि कटाक्ष गरेका हुन्।
यो प्रसंगले यतिबेला एमाले वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पोखरेलका अनुसार वि.सं. २०५९ मा जनकपुरमा सम्पन्न एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा एक नेताले तत्कालीन पार्टी प्रमुख (महासचिव) माधवकुमार नेपालप्रति लक्षित गर्दै एउटा व्यङ्ग्यात्मक प्रसंग सुनाएका थिए। सो प्रसंग "आफूले छोडे पार्टी नै चल्दैन र अरू कोही योग्य छैनन्" भन्ने मानसिकतासँग जोडिएको थियो।
"ज्यान गए नेतृत्व छोड्न नमिल्ने, आफूले छोड्दा नेतृत्वका लागि अर्को कोही पनि योग्य नरहेको तर्क उठिरहेको बेला त्यसबेलाको त्यो प्रसंग योगेश कमरेडलाई सम्झना भएको हो कि?" नेता ईश्वर पोखरेलले भने ।
पोखरेलले उपमहासचिव योगेश भट्टराईले भर्खरै सम्पन्न सचिवालय बैठकको तात्तातो बहसपछि मात्रै किन त्यो प्रसंग सम्झिए होलान् भनी प्रश्न गरेका छन्। सचिवालयभित्र नभएका आम कार्यकर्तालाई यो अनौठो र रहस्यमय लाग्न सक्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक बहस सामान्य नभएको संकेत गरेका छन्।
झट्ट सुन्दा सामान्य लागे पनि यो प्रसंग एमाले पंक्ति र विशेषगरी संस्थापन पक्षका लागि गम्भीर चासो र धक्काको विषय बनेको छ। पोखरेलले माधव नेपालको पुरानो प्रसंगमार्फत वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नै 'नेतृत्व हस्तान्तरण र योग्यता' को ऐना देखाउन खोजेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस