Techie IT
२०८२ चैत्र २६, बिहीबार

चिसो रातमा पनि थामेन भीड, महाशिवरात्रिमा पशुपति क्षेत्र भरिभराउ


जाडो महिनाको चिसो स्याँठबीच पनि महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र भक्तजनले खचाखच भरिएको छ। आइतबार साँझदेखि सुरु भएको भीड सोमबार बिहानसम्म पनि उस्तै देखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

महाशिवरात्रिका कारण रातभर मन्दिर बन्द गरिएन भने मूल सडकबाट प्रवेश गर्ने मुख्य ढोका पनि खुला राखिएको थियो। सूर्यास्तपछि सुरु भएको चार प्रहरको पूजा आज बिहान ६ बजाअघि सम्पन्न भएको थियो।

कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार राति १० बजेपछि पनि मुख्य क्षेत्र प्रवेशद्वार बाहिरसम्म भक्तजनको लाम लागेको थियो। विगत वर्षमा मूलढोका बन्द गरेर पूजा समापन गरिन्थ्यो, तर यस वर्ष अत्यधिक भीडका कारण ढोका बन्द नगरिएको उनले बताइन्।

पशुपतिनाथसँगै गोकर्णेश्वर महादेव मन्दिरमा पनि रातिसम्म भक्तजनको भीड लागेको थियो। मन्दिर क्षेत्रलाई आकर्षक बत्तीले सिँगारिएको थियो। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने शास्त्रीय मान्यता अनुसार दुवै स्थानमा दर्शन गर्ने भक्तजनको संख्या उल्लेख्य देखिएको छ।

भक्तजनका कारण गोकर्णेश्वर क्षेत्रमा थुप्रिएको फोहर आज बिहान सरसफाइ गरिने जनाइएको छ। वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा सफाइ अभियान सञ्चालन गरिनेछ।

यसैबीच, गोठाटारस्थित नागेश्वर महादेव मन्दिर मा पनि बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको थियो। छ जना ब्राह्मणद्वारा चारै प्रहर पूजा तथा रुद्राभिषेक सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिए।

महाशिवरात्रिका अवसरमा राजधानीसहित देशभरका शिवालयमा भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा पर्ने तिथिमा हरेक वर्ष महाशिवरात्रि विशेष श्रद्धा र भक्तिभावका साथ मनाइने गरिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट