Techie IT
२०८३ मंसिर ९, मंगलबार

सोडारीको सम्पत्ति विवरण मगाउन विशेष अदालतको आदेश


सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश जारी गरेको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार इजलासले कैलालीको गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट सोडारीसँग सम्बन्धित कागजात झिकाउन आदेश दिएको छ । ती कागजात प्राप्त भएपछि मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यमन्त्री सोडारी सार्वजनिक पदमा बहाल रहँदा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै २०८२ जेठ १९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले सोही रकमलाई बिगो कायम गरेको छ ।

अभियोगपत्रअनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० गतेसम्म सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति आर्जन गरेका थिए ।

आयोगको अनुसन्धानबाट उक्त अवधिमा सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तालगायत स्रोतबाट कुल ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र वैध आम्दानी भएको देखिएको छ ।

तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन, छोराको विवाह, सेयर लगानी र चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ ।

कुल आय र व्ययको तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको सम्पत्तिको वैध स्रोत नखुलेको आयोगको निष्कर्ष छ ।

अख्तियारले गैरकानुनी आर्जनबाट सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर तथा बैंक मौज्दातसमेत जफत गर्न मागदाबी लिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट