गतिविधि निगरानी गर्न टिकटकद्वारा फ्यामिली पेयरिङ फिचर परिमार्जन
सामाजिक सञ्जाल टिकटकले किशोरकिशोरीले प्लेटफर्ममा गर्ने गतिविधिबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउने उद्देश्यले ‘फ्यामिली पेयरिङ’ फिचर परिमार्जन गरेको छ ।
नयाँ सुविधामार्फत अभिभावकले आफ्ना सन्तानले टिकटकमा बिताउने समय, उनीहरूको अन्तरक्रिया, रुचिका विषयवस्तु र सार्वजनिक रूपमा पोस्ट गरेका सामग्रीबारे विस्तृत जानकारी पाउन सक्नेछन् ।
टिकटकले सोमबार सार्वजनिक गरेको नयाँ ड्यासबोर्डमा स्क्रिन टाइम, सामाजिक अन्तरक्रिया, सामग्रीप्रतिको रुचि र सार्वजनिक पोस्ट गरी चार प्रमुख विषयलाई समेटेको छ ।
नयाँ व्यवस्था अनुसार अभिभावकले किशोरकिशोरीले दैनिक औसतमा कति समय टिकटक चलाउँछन्, रातिको समयमा कति प्रयोग गर्छन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ राखेका छन् भन्ने थाहा पाउनेछन् ।
त्यस्तै, उनीहरूले फलो गरेका र फलोअरको सङ्ख्यामा आएको परिवर्तन, सम्पर्कमा रहेका खाता तथा ब्लक गरेका खाताबारे पनि जानकारी मिल्नेछ । आगामी महिनाहरूमा किशोरकिशोरीले कसलाई सन्देश (मेसेज) पठाइरहेका छन् भन्ने विवरणसमेत अभिभावकलाई उपलब्ध गराउने कम्पनीको योजना छ ।
अभिभावकले किशोरकिशोरीले फलो गरेका प्रमाणित सामग्री निर्माता (क्रिएटर) का भिडियोको नमुना हेरेर उनीहरूको रुचि र प्रभाव पारिरहेका विषयबारे बुझ्न सक्नेछन् । टिकटकले परामर्श गरेका ८० प्रतिशतभन्दा बढी अभिभावकले यस्तो सुविधा चाहेको बताएका थिए ।
नयाँ ड्यासबोर्डमा किशोरकिशोरीले साप्ताहिक रूपमा सार्वजनिक गरेका पोस्ट र तिनमा आएका भ्युजको विवरणसमेत देखिनेछ ।
टिकटकका अनुसार यो फिचर अभिभावकलाई स्पष्ट जानकारी दिने, निर्णय लिन आवश्यक सन्दर्भ उपलब्ध गराउने र किशोर किशोरीको गोपनीयताको सम्मान गर्ने तीन सिद्धान्तमा आधारित छ । ड्यासबोर्डमा उपलब्ध विवरण दैनिक अद्यावधिक हुनेछन् भने अभिभावकले मोबाइल एपसँगै वेब ब्राउजरबाट पनि यो सुविधा प्रयोग गर्न सक्नेछन् ।
यसैबीच, किशोरकिशोरीले सम्भावित हानिकारक सामग्री खोजेको अवस्थामा अभिभावकलाई सचेत गराउने नयाँ सूचना प्रणालीसमेत विकास भइरहेको टिकटकले जनाएको छ । बोस्टन चिल्ड्रेन्स अस्पतालको डिजिटल वेलनेस ल्याब र आत्महत्या रोकथामसम्बन्धी विज्ञ डा. ड्यान रिडेनबर्गसँगको सहकार्यमा यो प्रणाली तयार पारिँदै छ ।
यस प्रणालीले किशोरकिशोरीले हानिकारक सामग्री खोज्ने प्रयास गरेमा अभिभावकलाई सूचना दिनुका साथै त्यस्तो अवस्थामा सन्तानसँग कसरी संवाद र सहयोग गर्ने भन्नेबारे विज्ञहरूको सुझावसमेत उपलब्ध गराउनेछ ।
त्यस्तै, टिकटकले शिक्षक तथा शैक्षिक संस्थाका लागि ‘एजुकेटर्स गाइड’ पनि सार्वजनिक गरेको छ । शिक्षक, युवा सुरक्षा विज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँगको परामर्शमा तयार पारिएको उक्त निर्देशिकामा टिकटकको कार्यप्रणाली, विद्यार्थीलाई डिजिटल सुरक्षाबारे सचेत गराउने तरिका, अनलाइन व्यवहार र सञ्चारमाध्यम साक्षरतासम्बन्धी विषय समेटिएका छन् ।
यस निर्देशिकाले विद्यालय र परिवारलाई किशोरकिशोरीमा सुरक्षित डिजिटल व्यवहार विकास गर्न मद्दत पुग्ने टिकटकको विश्वास छ । कम्पनीले सुरक्षित डिजिटल वातावरण निर्माणका लागि आगामी दिनमा पनि यस्ता सुरक्षा उपाय थप गर्दै जाने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस