Techie IT
२०८३ मंसिर ९, मंगलबार

के गगनलाई घेर्ने प्रयास हुँदैछ ?


नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर सत्तापक्ष र अन्य दलका नेताहरूबाट भइरहेका चलखेलबारे कांग्रेस सभापति गगन थापाले सनसनीपूर्ण खुलासा गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री कार्यालयनिकट एक वरिष्ठ व्यक्तिले बोलेको अडियो आफूले सुनेको बताएका हुन्।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले चीन भ्रमणका क्रममा फेसबुकमा पोस्ट गरेको भिडियोमा 'स्थानीय चुनावसम्म कांग्रेसको आधिकारिकता शेरबहादुर देउवाको हातमा जानुपर्ने र एमालेमा केपी ओली तथा महेश बस्नेतलाई रोक्न नहुने' अभिव्यक्ति दिएका थिए।

सोही प्रसंग कोट्याउँदै सभापति थापाले चीनको अडियो आउनुभन्दा तीन दिनअघि नै प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ व्यक्तिले त्यस्तै आशयको कुरा बोलेको अडियो एक साथीले आफूलाई सुनाएको दाबी गरे। अहिलेको बालेन सरकारले गगन थापालाई घेराहाल्ने, राजनीतिक रुपमा बाधा खडागरिदिने खालको नीति लिएको छ भनेर पनि आजकाल चर्चा हुने गरेको छ ।

‘अस्ति हामीले चाइनाको अडियो सुनिहाल्यौँ, मलाई अडियोको धन्दामा रुचि छैन,’ थापाले बैठकमा भने, ‘तर त्यसको तीन दिनअगाडि प्रधानमन्त्री कार्यालयको एकजना वरिष्ठ साथीले बोलेको अडियो बाहिर नलैजाने सर्तमा मलाई सुनाइएको थियो। ती व्यक्तिले पनि चाइनामा बोलेको जस्तै दुईवटा कुरा गरेका रहेछन्– एमालेमा जसरी हुन्छ केपी ओलीलाई कायम राख्ने र कांग्रेसमा जहाँबाट हुन्छ शेरबहादुर देउवा खोजेर राख्ने। यत्ति भयो भने सकियो भन्ने रहेछ।’

विशेष महाधिवेशनबाट थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाए पनि सर्वोच्च अदालतले आफ्नो फैसलाविरुद्ध पुनरावलोकन (निस्सा) दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः चर्चामा छ। तर थापाले अदालतबाट पाँचपटक फैसला भइसकेको र १५औँ नियमित महाधिवेशनसमेत सम्पन्न भइसकेकाले आधिकारिकतामा कुनै सन्देह नगर्न आग्रह गरे। ‘अब संसद् पुनर्स्थापना भए मात्रै कांग्रेसको आधिकारिकता उल्टिने हो, नत्र केही हुँदैन,’ उनले स्पष्ट पारे।

बैठकमा सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक योगदानको सम्मान गर्दै पछिल्ला अभिव्यक्तिहरूप्रति भने चिन्ता व्यक्त गरे। देउवालाई अझै पनि नेता र अभिभावक मान्ने उल्लेख गर्दै उनले भने, “तपाईं प्रधानमन्त्री र सभापति हुनुहुन्न भनेर लडेको हुँ, तर सभापति मानेरै बसेको हुँ। तर अरु नमुना र जोकरले बोले जस्तै गरी देउवाले बोल्न थाल्नुभयो भने मलाई चिन्ता लाग्ने भयो।”

हालै सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ४–५ वर्षकी बालिकाले 'जेन–जी आन्दोलनमा गगन थापाले घर जलाएको हो' भन्दा देउवाले टाउको हल्लाउँदै सहमति जनाएको प्रति थापाले गम्भीर आपत्ति जनाएका छन् । भदौ २४ को आगजनीमा आफ्ना बाबुआमा, श्रीमती र छोरीहरू घरभित्रै रहेको स्मरण गर्दै उनले उक्त घटनाले छोरीहरूमा गहिरो मानसिक आघात (ट्रमा) पारेको बताए।

आधिकारिकताको विषयमा अदालतमा चलखेल भएको भनी देउवाले दिएको अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि जनाएका छन् । कसले वारेस हालेको हो भन्नेबारे मिडियाले खोजी गरे देउवा आफैँ बोल्न छोड्ने उनको भनाइ थियो। साथै, १५औँ महाधिवेशनमा सहभागी नभएका असन्तुष्ट नेताहरूलाई पनि संवादमार्फत पार्टीको जिम्मेवारीमा समेटेर लैजाने ढोका खुला रहेको थापाले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट