बालबालिकाको ज्यानलिने धराम बन्दै पानी पोखरी, हप्तामा ४ जनाको मृत्यु
कार्तिक १८ देखि २५ गतेसम्म देशभर भएका पानीमा डुब्ने घटनाको नेपाल प्रहरीको केन्द्रीय कार्यालयको डाटालाई रैवारप्रेसले विश्लेषण गर्दा पछिल्ला सात दिनभित्र यस्ता दुर्घटनामा उल्लेखनीय वृद्धि भएको देखिएको छ।
उक्त अवधिमा देशका विभिन्न जिल्लामा पोखरी, खोला र नदीमा डुबेर ४ जनाले ज्यान गुमाएका छन्, जसमा ३ जना बालबालिका र १ जना किशोरी रहेका छन्।
सिराहामा २ वर्षीय ऋषि मण्डल, बर्दियामा १३ वर्षीय अभिषेक बुढा र झापामा साढे २ वर्षीय दिवांश माझीको मृत्यु भएको हो। त्यस्तै, धनुषाको कमला खोलामा नुहाउने क्रममा डुबेर १६ वर्षीया आशा महराको ज्यान गएको छ।
नेपाल प्रहरीका अनुसार उक्त अवधिमा भएका डुब्ने घटनामा पुरुष ३ जना र महिला १ जनाको मृत्यु भएको हो। स्थानीय प्रशासनका अनुसार अधिकांश घटना घर नजिकै रहेका पोखरी वा खोलानाला वरपर खेल्ने र नुहाउने क्रममा भएका हुन्। डुबेर अशक्त बनेकाहरूलाई तत्काल अस्पताल पुर्याइए पनि बचाउन नसकिएको बताइएको छ।
सुरक्षा निकायले अभिभावकहरूलाई साना बालबालिकालाई जोखिमयुक्त जलस्रोत नजिक खेल्न नपठाउन आग्रह गरेको छ। यस्तै, स्थानीय तहलाई पनि पोखरी र खोलानाला वरपर चेतनामूलक साइनबोर्ड र बार (घेराबार) राख्न सुझाव दिइएको छ।
पानीमा डुब्ने घटना हरेक वर्ष मौसमी विपद्का रूपमा दोहोरिँदै आएको छ। यस्ता स–साना लापरवाही र असावधानीका कारण परिवार तथा समुदायमा गहिरो पीडा थपिँदै गएको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस