विभिन्न स्थानमा दुर्घटनाबाट ५ जनाको मृत्यु
काभ्रे, बागलुङ, जाजरकोट र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई बालकसहित पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
काभ्रेको बनेपा–१३ भैँसेपाटीमा भारतीय ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङका ९ वर्षीय जुवास बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। त्यस्तै बागलुङको ढोरपाटन–८ मा बोलेरो पिकअपको ठक्करबाट ४ वर्षीय बालक रीकोस बिकको ज्यान गएको छ।
यसैगरी जाजरकोटको नलगाड–८ मा अटो अनियन्त्रित भई दुर्घटना हुँदा १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ भने घाइते ३ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। कपिलवस्तुको शिवराज–१ मा ट्रक र दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस