वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा लगातार वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै शनिबार (वैशाख १२) दिउँसोदेखि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नरहेको अवस्थामा मात्र अर्को सूचना जारी गरी सवारी आवागमन सुचारु गरिनेछ। विशेषगरी कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने क्षेत्र नजिक वर्षाका कारण बारम्बार समस्या देखिँदै आएको छ। सो क्षेत्रमा रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको थियो।
गत वर्ष असोजमा बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो भने त्यसपछि डाइभर्सनमार्फत आवागमन सञ्चालन गरिएको थियो। यस्तै, गएको चैतमा पनि बाढीले सडक पुनः क्षति पुर्याएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस