अविरल वर्षाले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६:२० बजेसम्म प्राप्त विवरण अनुसार विभिन्न स्थानमा सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेश: भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण हाल एकतर्फी मात्र सुचारु छ। यस्तै, इलामको राजदुवाली क्षेत्रमा झापा-ताप्लेजुङ सडकखण्डअन्तर्गत मेची राजमार्ग पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। यी दुवै स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
बागमती प्रदेश: पहिरोको जोखिम बढेसँगै यहाँका प्रमुख सडकहरूमा आवागमनमा कडाइ गरिएको छ। काभ्रेस्थित बीपी राजमार्गमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्तिलोकपथको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडकखण्डमा पनि साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म रात्रिकालीन सवारीसाधन सञ्चालनमा प्रतिबन्ध गरिएको छ।
सिन्धुपाल्चोक र रसुवा: सिन्धुपाल्चोकको कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी र स्याउ पार्क क्षेत्रको पासाङ ल्हामु सडकखण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको शिवपुरीस्थित टोखा-छहरे सडकखण्डमा पनि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ।
गण्डकी प्रदेश: मुख्य राजमार्गहरूमा पहिरो खसे पनि हाल ती सडकहरूमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। बागलुङको बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी-जोमसोम सडक र मनाङको खोत्रोस्थित चामे-बेँसीशहर सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
कर्णाली प्रदेश: रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस