चितवनमा फेला परेका १९९ शवको व्यवस्थापन
रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवन क्षेत्रमा फेला परेका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाट जङ्गल क्षेत्रमा ती शवहरूको सुरक्षित व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका कुल २७२ वटा शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको मात्र सनाखत हुन सकेको छ। सनाखत भएका शवहरू भने परीक्षणपश्चात् परिवारका सदस्यहरूलाई बुझाएको प्रहरीले जनाएको छ।
भविष्यमा बेपत्ता भएका व्यक्तिका परिवारसँग डीएनए परीक्षण गर्न मिल्ने गरी विशेष सङ्केत चिह्न (मार्क) राखेर शवहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। हालसम्म फेला परेका कुल शवहरूमा ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा अन्य (अवशेष) रहेका छन्।
अहिले पनि नदी किनारमा शव फेला पर्ने क्रम नरोकिएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीलाई खोजी तथा शव व्यवस्थापनको कार्यमा परिचालन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस