Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

आइफोन डुओको माग उच्च: अग्रिम बुकिङ सुरु भएकै दिन डेलिभरी मिति सन् २०२७ सम्म धकेलियो


एप्पलको पहिलो फोल्डएबल स्मार्टफोन 'आइफोन डुओ' प्रति ग्राहकको आकर्षण ह्वात्तै बढेको छ। तर, अत्याधिक मागका कारण फोन उपलब्ध गराउन कम्पनीलाई कठिन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अग्रिम अर्डर खुलेको केही समयमै माग धान्न नसकेपछि कम्पनीले फोनको डेलिभरी मिति पछाडि सारेको छ। अक्टोबर १६ देखि अग्रिम अर्डर खुल्दा सुरुमा अक्टोबर २३ सम्ममा फोन डेलिभरी गरिने भनिएको थियो। तर, अर्डर खुलेको एक घण्टामै डेलिभरी मिति सन् २०२७ को जनवरी अन्तिम सातासम्म पुगेको ‘द भर्ज’ले उल्लेख गरेको छ। फोनको मोडल र रङ अनुसार डेलिभरी समय फरक-फरक तोकिएको छ।

एप्पलले पनि बजारमा फोनको संख्या सीमित रहने स्वीकार गरेको छ। “हामी यो नयाँ उत्पादन सकेसम्म चाँडो ग्राहकको हातमा पुर्‍याउन कडा मेहनत गरिरहेका छौँ” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यद्यपि, कम्पनीले कति थान अर्डर आयो वा कति उत्पादन भइरहेको छ भन्ने विवरण भने सार्वजनिक गरेको छैन।

उत्पादनमा प्राविधिक चुनौती
विश्लेषकहरूका अनुसार सामान्य आइफोनको तुलनामा 'आइफोन डुओ'को बनावट निकै जटिल छ। फोन खोल्ने र बन्द गर्ने कब्जा (हिन्ज) निर्माण प्रक्रिया कठिन भएकाले ठूलो संख्यामा उत्पादन गर्न समय लाग्ने अनुमान गरिएको छ। यद्यपि, एप्पलले उत्पादन ढिलाइ हुनुको मुख्य कारणबारे आधिकारिक पुष्टि गरेको छैन।

झन्डै दुई दशकअघि पहिलो आइफोन सार्वजनिक भएयता क्यामरा, स्क्रिन र क्षमतामा निरन्तर सुधार भए पनि फोनको मूल स्वरूप (फर्म फ्याक्टर) भने उस्तै थियो। एप्पलले पहिलो पटक फोल्ड गर्न मिल्ने डिजाइनमा आइफोन ल्याएको हो।

आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्च र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। यसको ठूलो स्क्रिनमा एकै पटक दुई वटा एप चलाउन, कागजात पढ्दै नोट लेख्न र वेबसाइटमा सामग्री तुलना गर्न सकिन्छ। फोनलाई विभिन्न कोणमा अड्याएर भिडियो हेर्न वा भिडियो कल गर्न मिल्छ। यसमा 'एप्पल पेन्सिल'को सहायताले नोट लेख्न र चित्र बनाउन सकिए पनि पेन्सिल छुट्टै किन्नुपर्छ, जुन हाल बजारमा आइसकेको छैन।

यस फोनमा ४८ मेगापिक्सेलका दुई वटा पछाडिका क्यामरा, एप्पलको एआई (AI) सुविधा र टच आइडी उपलब्ध छन्। यसमा टेलिफोटो लेन्स भने छैन र भौतिक सिमको सट्टा इ-सिम (eSIM) मात्र प्रयोग गर्न सकिन्छ। अमेरिकामा यसको सुरुवाती मूल्य १,९९९ अमेरिकी डलर छ भने सबैभन्दा महँगो मोडलको मूल्य ३,१९९ डलर तोकिएको छ।

कालोबजारी रोक्न प्रतिव्यक्ति दुई थानको कोटा
'आइफोन डुओ'को माग उच्च भएपछि एप्पलले खरिद सीमा लागू गरेको छ। कम्पनीले एक ग्राहकलाई बढीमा दुई थान मात्र फोन बिक्री गर्ने नियम ल्याएको छ। यो नियम भारतसहित अमेरिका, चीन, सिङ्गापुर र हङकङ जस्ता प्रमुख बजारहरूमा लागू भइसकेको छ।

एप्पलको आधिकारिक स्टोर वा वेबसाइटमा दुई थानभन्दा बढी फोन कार्टमा थप्न खोज्दा एक ग्राहकले अधिकतम २ थान आइफोन डुओ मात्र खरिद गर्न सक्नुहुनेछ भन्ने सन्देश देखिन्छ। यो सीमा 'आइफोन १८ प्रो' र 'आइफोन १८ प्रो म्याक्स'मा पनि लागू गरिएको छ।

एप्पलले यसबारे आधिकारिक स्पष्टीकरण नदिए पनि फोनको कालोबजारी र व्यापारीहरूले भारी मात्रामा उठाएर पुन: महँगोमा बेच्ने (रिएसलिङ) प्रवृत्ति रोक्न यस्तो कदम चालिएको बताइएको छ। यसअघि सन् २००७ मा पहिलो आइफोन सार्वजनिक गर्दा पनि एप्पलले प्रतिव्यक्ति दुई थानकै सीमा तोकेको थियो।

यसैबीच, जापान र दक्षिण कोरिया जस्ता बजारमा एप्पलले अझ कडा नियम लागू गरेको छ। ती देशहरूमा सिधै स्टोरमा गएर फोन किन्न पाइने छैन, ग्राहकले पहिले नै अनलाइन मार्फत समय (रिजर्भेसन) बुक गर्नुपर्नेछ।

फोल्डएबल बजारमा २५ प्रतिशत हिस्सा कब्जा गर्ने अनुमान
महँगो मूल्यका बाबजुद आइफोन डुओप्रति देखिएको क्रेजले फोल्डएबल स्मार्टफोन बजारमा ठूलो हलचल ल्याउने देखिएको छ। अनुसन्धान संस्था 'काउन्टरपोइन्ट रिसर्च'का अनुसार विश्वव्यापी फोल्डएबल बजारमा आइफोन डुओले करिब २५ प्रतिशत हिस्सा ओगट्न सक्ने अनुमान छ। यस बजारमा सामसङ ३८ प्रतिशतका साथ अगाडि रहनेछ भने हुवावे २२ प्रतिशतका साथ तेस्रो स्थानमा रहनेछ।

अनुमान अनुसार एप्पलले सन् २०२६ सम्ममा करिब ६० लाख थान आइफोन डुओ बिक्री गर्न सक्नेछ। उच्च मूल्य र जटिल उत्पादन प्रक्रियाका बाबजुद एप्पलको यो नयाँ प्रवेशले समग्र फोल्डएबल स्मार्टफोन बजारलाई थप प्रतिस्पर्धी र विस्तार गर्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट