Techie IT
२०८३ असोज ९, शुक्रबार

खतराको नजिकिँदै कुलेखानी जलाशय


अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ।

शुक्रबार साँझ ७ बजे गरिएको मापनअनुसार जलाशयमा पानीको सतह १ हजार ५२३.५१ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिए। उनका अनुसार जलाशयमा पानीको सतह औसत प्रतिघण्टा १० सेन्टिमिटरका दरले बढिरहेको छ। कुलेखानी जलाशयको कुल अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ।

कुलेखानीको पानीबाट पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजना सञ्चालन हुँदै आएका छन्। यसअन्तर्गत कुलेखानी–१ को जडित क्षमता ६० मेगावाट, दोस्रोको ३२ मेगावाट र तेस्रोको १४ मेगावाट रहेको छ।

निरन्तरको वर्षाका कारण जलाशयमा पानीको सतह थप बढ्न नदिन प्राधिकरणको लोड डिस्प्याच सेन्टर (एलडीसी) सँगको समन्वयमा अहिले तीनवटै प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरी विद्युत् उत्पादन भइरहेको छ।

ड्याम क्षेत्रमा सुरक्षाका लागि थप अनुभवी टोली परिचालन गरिएको छ भने जडित डिजेल जेनेरेटर (डीडी) को परीक्षण गरी दुरुस्त अवस्थामा राखिएको छ। सम्भावित आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै ड्याम नियन्त्रण प्रणालीअन्तर्गत ५ किलोमिटर दूरीसम्म सुनिने साइरनको व्यवस्था गरिएको छ। साथै, स्थानीय बासिन्दालाई पूर्वजानकारी दिन साइरन बजाउनेसम्बन्धी सचेतनामूलक सन्देश फ्लेक्स प्रिन्टमार्फत देउराली, सिमखोला, हेभी, खानीखोला र सिस्नेरी प्रहरी चौकीमा टाँसिएको छ।

स्मरण रहोस्, गत वर्ष पनि अत्यधिक वर्षाका बेला कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५३० मिटरभन्दा माथि पुगेपछि बाँधका ढोका (गेट) हरू आंशिक रूपमा खोलिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट