Techie IT
२०८२ श्रावण १९, सोमबार

२१६ मेगावाटको बझाङ माथिल्लो सेती आयोजना अघि बढ्यो, ४१ अर्ब लगानीको वित्तीय व्यवस्थापन सम्पन्न

आयोजना पाँच वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।


सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजना निर्माणका लागि १४ वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा ४१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने यो आयोजना कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सह–नेतृत्वमा अघि बढाइएको हो। शुक्रबार आयोजित विशेष समारोहबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

वित्तीय व्यवस्थापनमा हाइड्रो–इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक लगायतका वाणिज्य बैंकहरू सहभागी छन्। साथै, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसी फाइनान्स समेतले सहवित्तीयकरणमा सहभागिता जनाएका छन्।

सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन्।

कुमारी बैंकले हालसम्म ६५ भन्दा बढी जलविद्युत् तथा सौर्य आयोजनामा ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरिसकेको छ। बैंकका अनुसार ती आयोजनाहरूको कुल उत्पादन क्षमता २,००० मेगावाटभन्दा बढी छ, जसमा विभिन्न आयोजना सञ्चालनमा छन् भने केही निर्माणको चरणमा रहेका छन्।

बझाङ माथिल्लो सेती आयोजना अर्ध जलाशययुक्त नदी प्रवाही मोडेलमा निर्माण गरिनेछ। यसको पिकिङ क्षमता ४.५ घण्टा रहेको छ। जैविक बहाव सुनिश्चित गर्न वर्षभरि सेती नदीमा १.४१ घन मिटर प्रति सेकेन्ड पानी प्रवाह गरिने व्यवस्था गरिएको छ।

नेपाल विद्युत प्राधिकरण (नेपाले) सँग विद्युत खरिद सम्झौता (पिपिए) २०८० साल साउन १९ गते सम्पन्न भएको हो भने, २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति प्राप्त गरिएको हो। आयोजना पाँच वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।

आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमा वर्षायाममा ८३४.४९ गिगावाट घण्टा र हिउँदयाममा ३९५.११ गिगावाट घण्टा बिजुली उत्पादन हुने अपेक्षा छ।

उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० केभी स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत प्रस्तावित ४०० केभी बझाङ सब-स्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिनेछ।

आयोजनाको प्रति मेगावाट लागत करिब १९ करोड २५ लाख रुपैयाँ पर्नेछ। पहिलो वर्षमै अनुमानित ७ अर्ब ६७ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। कुल लागतको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट संकलन गरिरहेको छ।

यस आयोजनाबाट स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट