उच्चपदस्थसँग फोटो खिचेर मिटरब्याजी धन्दा, ज्यान देखाएर करोडौं असुल्ने ‘भष्मासुर डन’ पक्राउ

उच्चपदस्थ व्यक्तिसँग खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा पोष्ट गर्दै त्यसैको आडमा अवैध मिटरब्याजी धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ घर भएका ३४ वर्षीय कविराज कटुवाललाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। मकवानपुरबाट पक्राउ गरिएका कटुवाललाई बुधबार ललितपुर ल्याइएको र जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
कटुवालमाथि मन्त्रीदेखि प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख (आईजीपी) तथा उच्च तहका नेतासँग खिचिएका तस्वीर देखाउँदै आफ्नो पहुँच बलियो रहेको आडमा मिटरब्याजको धन्दा चलाएको आरोप छ। उनलाई भष्मासुर डनका रुपमा चिनिदैं आएको प्रहरीले जनाएको छ ।
परिसरका एक अनुसन्धान अधिकृतका अनुसार, “उच्च पदस्थहरूसँगको सम्बन्ध देखाउँदै अवैध लेनदेन गर्ने प्रवृत्ति देखिएकाले अनुसन्धान भइरहेको छ।”
शारीरिक सुगठनका खेलाडी समेत रहेका कटुवालले एक व्यापारीलाई १ करोड ४० लाख रुपैयाँ ऋण दिएर करिब पाँच करोड रुपैयाँ असुलेको, अझै रकम बाँकी रहेको भन्दै धम्क्याएर चेकसमेत कब्जामा लिएको र कार समेत लगेको उजुरी परेको छ।
प्रहरीका अनुसार, कटुवाल र पीडित व्यापारीबीच करिब चार वर्षदेखि लेनदेन हुँदै आएको पाइएको छ। पीडितले ऋण तिर्न विभिन्न व्यक्तिका खातामा करोडौं रुपैयाँ जम्मा गरेको दाबी गरेका छन्। एभरेष्ट, कुमारी, सिटिजन्स, सिद्धार्थ, गरिमा, लक्ष्मी सनराइज, ग्लोबल आईएमईलगायत विभिन्न बैंक खातामा सो रकम जम्मा भएको विवरण प्रहरीले उद्धृत गरेको छ।
सन् २०२३ देखि २०२५ सम्म क्रमशः ४ करोड ८६ लाख रुपैयाँभन्दा बढी असुल गरेको पीडितको दाबी छ। तर सो रकम कटुवालकै संलग्नतामा जम्मा भएको हो वा अन्य व्यक्तिहरूमार्फत भुक्तानी भएको हो भन्नेबारे अहिले अनुसन्धान भइरहेको परिसरका एसपी जोशीले जानकारी दिए।
यसबाहेक, गत २२ साउनमा पुल्चोकस्थित लबिम मल अगाडिबाट बा२०च ५२० नम्बरको कार कब्जा गरी लगेको र धम्कीपूर्ण सन्देश पठाएको दाबी पीडितले प्रहरीमा गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस