१५ हजारलाई रोजगारी दिनु गल्ती हो ? सपनालाई जलाउन सकिँदैन, हामी पुनः उठ्नेछौं - चौधरी ग्रुप

चौधरी ग्रुपले हालैको जेनजी आन्दोलनका क्रममा देखिएको हिंसा, लुटपाट र विनाशप्रति गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीका अध्यक्ष विनोद चौधरी र सम्पूर्ण व्यवस्थापन टोलीलाई व्यक्तिगत रूपमा लक्षित गरिएका आक्रमण, कार्यालय, कारखाना र शोरुमको क्षति असह्य भए तापनि, चौधरी ग्रुप परिवारले दृढता र निष्ठापूर्वक सबै चुनौतीहरूको सामना गरेको जानकारी दिएका छन्।
ग्रुपका व्यवस्थापक, कर्मचारी र परिवारका सदस्यहरूले आफ्ना ग्राहक र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै राष्ट्रको अर्थतन्त्रमा योगदान जारी राखेका छन्। चौधरी ग्रुपले प्रत्येक वर्ष करिब १८ अर्ब रुपैयाँभन्दा बढी कर राज्यलाई बुझाउँदै आएको छ र १५ हजारभन्दा बढी सदस्यहरूको ठूलो परिवार हो।
संकटका बाबजुद, चौधरी ग्रुपले आफ्नो मूल उद्देश्य र मूल्य–मान्यता अडिग राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । भविष्यमा यस विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली नागरिकप्रति अझ गहिरो प्रतिबद्धता जन्माउने छ। ग्रुपले पुनर्निर्माण गरी अझ मजबुत र एकताबद्ध भएर अघि बढ्ने योजना बनाएको छ।
अध्यक्ष चौधरीले समूहका प्रत्येक सदस्यलाई धन्यवाद ज्ञापन गर्दै भने, “हामी मिलेर अझ उज्ज्वल भविष्य निर्माण गर्नेछौं। इतिहासले हामीलाई जलाउने आगो सम्झने छैन, तर हामी कसरी अझ बलियो, गौरवपूर्ण र एकताबद्ध बनेर बाहिर निस्कियौं भन्ने सम्झने छ ।”
तपाईको प्रतिक्रिया दिनुहोस